काठमाडौँ, वैशाख २२ गते ।
नेपाल विश्वविद्यालयको उपकुलपतिमा डा. अर्जुन कार्की र रजिस्ट्रारमा डा. सूर्यराज आचार्य नियुक्त हुनुभएको छ । विश्वविद्यालयको संरक्षक परिषद् (बोर्ड अफ ट्रस्टी) ले उहाँहरूलाई आइतबार नियुक्त गरेको हो ।
पेसाले चिकित्सक कार्की पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वउपकुलपति हुनुहुन्छ । आचार्य सार्वजनिक नीति र पूर्वाधारविज्ञ हुनुहुन्छ । उपकुलपति तथा रजिस्ट्रारको नियुक्ति सिफारिस समितिको सिफारिसका आधारमा गरिएको हो । विश्वविद्यालय ऐन अनुसार विश्वविद्यालयको उच्च शासकीय निकाय संरक्षक परिषद् रहने व्यवस्था छ । सार्वजनिक सूचनामार्फत प्राप्त आवेदनमध्येबाट सिफारिस समितिले योग्य उम्मेदवारलाई सङ्क्षिप्त सूचीमा समावेश गरी कार्यपत्र प्रस्तुतीकरण र अन्तर्वार्ता सञ्चालन गरेको थियो ।