नागोया (जापान), असोज ४ गते ।
ओलम्पिकपछि विश्वकै दोस्रो ठुलो खेलकुुद मेलाका रूपमा रहेको एसियाली खेलकुदको २० औँ संस्करणको उद्घाटन शनिबार जापानको आइची नागोयाको पालोमा मिजुहो रङ्गशालामा भव्य रूपमा भएको छ । जापानका सम्राट् नारुहितोले २०२६ एसियाली खेलकुद आधिकारिक रूपमा सुरु भएको घोषणा गर्नुभयो ।
सो अवसरमा जापानकी साम्राज्ञी मासाको, राजकुमार आकिससिनो र राजकुमारी किकोका साथै अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) की अध्यक्ष क्रिस्टी कभेन्ट्री र ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए) का अध्यक्ष शेख जोआन बिन हमान अल थानीको पनि उपस्थिति रहेको थियो । ओसिएका अध्यक्ष शेख जोआनले आफ्नो सम्बोधनमा भन्नुभयो, “आज राति एसिया र विश्वको ठुलो हिस्साको नजर जापानमा केन्द्रित छ ।”
उद्घाटन समारोहका विषयवस्तु ‘हारमोनकी हर्ट बिट’ रहेको थियो । ३० हजार दर्शक क्षमता भएको पालोमा मिजुहो रङ्गशालाको मञ्च पनि मुटु आकारको बनाइएको थियो । जुन मञ्चमा विभिन्न सांस्कृतिक नृत्य प्रस्तुत भए । सङ्गीतकार तारो हाकासीले पनि प्रस्तुति दिनुभयो । यसै गरी उद्घाटन समारोहको अन्त्यतिर जापानका हस्ती खेलाडीले मसाल प्रज्वलित गरेका थिए । उद्घाटन समारोहअघि जापानी कलाकारको समूहले वार्मअप स्टेज प्रस्तुति पनि दिएका थिए ।
उद्घाटनको चमक १६ दिनसम्म रहिरहने आशा गरिएको छ । ‘इमाजिन वन एसिया’ को नारासहित भएको नागोया एसियाड असोज १८ गतेसम्म हुने छ । उद्घाटनअघि नै महिला क्रिकेट, महिला फुटबल, टेकबल, बास्केटबल, मोडर्न पेन्टाथलन, महिला भलिबल, सफ्ट टेनिस सुरु भइसकेका छन् ।
जापानले एसियाली खेलकुदको आयोजना गरेको यो तेस्रो पटक हो । यसअघि सन् १९५८ मा टोकियो र सन् १९९४ मा हिरोसिमाले एसियाली खेलकुदको आयोजना गरेको थियो । आइची नागोया एसियाडमा ४३ खेलका ७१ इभेन्ट्समा ४६९ पदकका लागि प्रतिस्पर्धा हुने छ । यसपालि खेलाडी र अफिसियल गरी करिब १७ हजारले सहभागिता जनाएका छन् । जुन आयोजकले अपेक्षा गरेको भन्दा दुई हजारले बढी हो । दुई वर्षअघि भएको पेरिस ओलम्पिकभन्दा पनि नागोया एसियाडमा धेरै खेलाडी र अफिसियलको सहभागिता रहेको छ ।
यस पटकको एसियाली खेलकुदमा आयोजक जापानको टोली सबभन्दा ठुलो छ । जापानका कुल ९३३ खेलाडीले घरेलु मैदान र दर्शकको ऊर्जामा खेल्ने छन् । त्यसपछि दोस्रो ठुलो टोली चीनको रहेको छ । चीनको टिममा आठ सयभन्दा बढी खेलाडी छन् । पछिल्लो संस्करणमा चीन २०१ स्वर्ण पदक जितेर शीर्ष स्थानमा रहेको थियो । ओलम्पिककै हेभिवेट टिम चीनको शीर्षस्थान यसपालि पनि पक्का देखिन्छ । पछिल्लो संस्करणमा दोस्रो भएको जापानले ५२ र तेस्रो भएको दक्षिण कोरियाले ४२ स्वर्ण पदक जितेका थिए । यस पटक पनि सो ढाँचा दोहरिने अनुमान गरिएको छ । नागोआ एसियाडमा नागोया एसियाडमा अहिले विश्वमा लोकप्रिय मिक्स मार्शल आर्ट्स (एमएमए) पनि थपिएको छ । यसबाहेक पाडेल, टेकबल, सर्फिङ, भर्चुअल तेक्वान्दो र फ्रिस्टाइल बिएमएक्स खेलले पनि एसियाली खेलकुदमा पदार्पण गर्दै छ ।
मानमती र चन्द्रलाई नेपालको झन्डा बोक्ने गौरव
रङ्गीचङ्गी, झकिझकाउ कार्यक्रमबिच ४५ देशका खेलाडी तथा पदाधिकारीले मार्चपास गरे । एसियाडमा गराइने परम्परागत मार्चपासमा सबभन्दा अगाडि अफगानिस्तानको टोली रह्यो । आयोजक जापानको टोली मार्चपासमा सबभन्दा पछाडि रह्यो । नेपालले पनि सो मार्चपासमा सहभागिता जनायो । नेपालको झन्डा बोक्ने गौरव राष्ट्रिय महिला कबड्डी खेलाडी मनमती विष्ट र बक्सर चन्द्रबहादुर थापामगरले पाउनुभयो ।
आइची नागोया एसियाडमा नेपालको २१ खेलमा सहभागिता रहने छ । नेपालका १३५ खेलाडी आफ्नो देशको नाम चम्काउन अहिले जापानमा छन् । शिक्षा तथा खेलकुदमन्त्री, सस्मित पोखरेल, मन्त्रालयका सचिव चुडामणि पौडेल र सेफ दी मिसन राष्ट्रिय खेलकुद परिषद्को सदस्यसचिव रामचरित्र मेहताले अन्तिम समयमा जापान नआउने निर्णय गर्नुभएको थियो । त्यसैले राखेपका उपाध्यक्ष विशाल श्रेष्ठले सेफ दी मिसनका रूपमा एसियाडमा नेपालको प्रतनिधित्व गर्नुहुने भएको छ ।
आज एरिकाले खेल्ने
नेपालकी कराँते खेलाडी एरिका गुरुङले आइतबार दोस्रो दिन जोर्डनका यारा नासिरसँग खेल्नुहुने छ । यस एसियाडमा नेपालले स्वर्णसहितको दोहोरो पदकको लक्ष्य दिएको छ । एरिकालाई स्वर्ण पदक दिलाउने खेलाडीका रूपमा लिइएको छ । ६८ केजीमाथिको तौल समूहको उक्त खेलमा नासिरलाई हराएर एरिकाले सेमिफाइनलमा पुग्ने प्रयास गर्नुहुने छ । पछिल्लो एसियाडमा एरिकाले नेपाललाई रजत पदक दिलाउनुभएको थियो । यसै गरी कराँतेमा ५५ केजीमुनि राकेश मानन्धर, ६० केजीमुनि मीनबहादुर तामाङ र महिला एकल कातामा सानुमाया थिङले खेल्नुहुने छ । नेपालले आइतबार पौडी, उसु र महिला भलिबलमा पनि प्रतिस्पर्धा गर्ने छ ।