पश्चिम नवलपरासी, असोज ४ गते ।
नवलपरासीको बर्दघाट नगरपालिकाले स्थानीय तहबाटै कर सम्बन्धी सेवा प्रवाह गर्ने भएको छ ।
राजस्व तथा कर सम्बन्धी सेवाका लागि आन्तरिक राजस्व कार्यालय भैरहवा जानुपर्ने बाध्यतालाई अन्त्य गर्न जिल्लामा पहिलो पटक बर्दघाट नगरपालिकाले कर प्रणाली सम्बन्धी सेवा सुरुवात गर्न लागेको हो ।
जसका लागी बर्दघाट नगरपालिका र आन्तरिक राजस्व कार्यालय, भैरहवाबिच समझदारीपत्रमा हस्ताक्षर भएको छ । अब आन्तरिक राजस्व कार्यालय भैरहवाबाट प्रवाह हुँदै आएका कर प्रशासनसँग सम्बन्धित विभिन्न सेवाहरू नगरपालिकाबाटै उपलब्ध हुनेछ ।
नगर प्रमुख शम्भुलाल श्रेष्ठले स्थानीय तहमै कर सम्बन्धी सेवा उपलब्ध भएपछि बर्दघाट तथा आसपासका सेवाग्राहीलाई भैरहवा पुग्नुपर्ने बाध्यता कम हुने बताउनुभयो । परासीमा रहेको करदाता सेवा कार्यालय आन्तरिक राजश्व कार्यालय भैरहवामा समाहित भएपछि जिल्लाका करदातालाई सेवा लिन भैरहवा जानुपर्ने अवस्था छ ।
स्थानीय तहमै कर सम्बन्धी सेवा सुरु गर्ने नीतिअनुरूप आवश्यक तयारी पूरा गरेका स्थानीय तहसँग सम्झौता गरी सेवा प्रदान गर्ने योजना अनुसार काम सुरु गरिएको आन्तरिक राजस्व कार्यालय भैरहवाका प्रमुख प्रेमराज पोखरेलले बताउनुभयो ।
पोखरेलका अनुसार धेरै करदाता रहेको जिल्ला भएकाले स्थानीय तहबाटै कर प्रशासनसम्बन्धी सेवा उपलब्ध गराउँदा करदातालाई सहज हुनुका साथै सबैलाई करको दायरामा ल्याउनसमेत सहयोग पुग्नेछ ।
अब सो क्षेत्रका सेवाग्राहीले कर दर्ता, कर विवरण तथा अन्य राजस्वसम्बन्धी सेवा लिन भैरहवा जानुपर्ने बाध्यता हटेको छ ।
बर्दघाट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबुराम पौडेलले कर्मचारी व्यवस्थापन लगायतका तयारी पुरा गरेर एक दुई हप्ता भित्र सेवा सुचारु गर्ने जानकारी दिनुभयो । सात स्थानीय तह रहेको नवलपरासीमा झन्डै ५८ हजार करदाता छन् ।