काठमाडौँ, वैशाख २२ गते ।
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले आगामी जेठ २ गतेदेखि मध्यपहाडी लोकमार्ग अभियान सुरु गर्ने भएको छ । आइतबार बसेको पार्टी पदाधिकारी बैठकले बैतडीको झुलाघाटबाट जेठ २ गतेदेखि अभियान सुरु गर्ने निर्णय गरेको हो ।
माओवादी केन्द्रका सचिव देवन्द्र पौडेलले भन्नुभयो, “पहिलो खण्ड बैतडीबाट कास्कीको पोखरासम्म अभियान चल्ने छ । त्यसपछि पोखराबाट ताप्लेजुङ पुगेर अभियान समापन हुने छ । कुन दिन कहाँ आमसभा, भेला, भेटघाट गर्ने विस्तृत योजना टुङ्गो लाग्न बाँकी छ ।” जनताको व्यापक सहभागितामा कार्यकर्ता भेटघाट, सभा, सम्मेलन, भेला, प्रशिक्षण, सङ्गठन परिचालनलगायतका कार्य हुने उहाँले बताउनुभयो । माओवादीले सरकारले गरेका नराम्रा कार्य जनतामा प्रचार गरेर भण्डाफोर गर्ने जनाएको छ ।