काठमाडौँ, जेठ १६ गते ।
सरकारले इन्डोर र आउटडोर चलचित्र छायाङ्कन स्टुडियो निर्माणका लागि निजी क्षेत्रलाई प्रोत्साहन गर्ने भएको छ ।
आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालको कला, संस्कृति, सभ्यता र भौगोलिक विविधता झल्किने गरी स्वदेशी तथा विदेशी चलचित्र छायाङ्कन गर्न इन्डोर तथा आउटडोर स्टुडियो निर्माण गर्न निजी क्षेत्रलाई प्रोत्साहन गरिने बताउनुभयो ।
यसै गरी प्राकृतिक, सांस्कृतिक, साहसिक, चलचित्र, आरोग्य र खेलमा आधारित पर्यटन प्रवर्धनका कार्यक्रम सञ्चालन गरिने कुरालाई पनि बजेटमा समेटिएको छ । नेपालको प्राचीन इतिहास, संस्कृति र पुरातात्त्विक वस्तुको संरक्षण गर्ने कुरालाई पनि बजेटमा प्राथमिकता दिइएको छ ।
अर्घाखाँची पणेनामा संस्कृत व्याकरणका प्रतिपादक पाणिनि ऋषिको स्मृतिमा पाणिनि ज्ञान उद्यान निर्माण गरिने र ऐतिहासिक तथा पुरातात्त्विक महत्त्वका अभिलेखको ‘डिजिटल अर्काइभिङ’ गर्न आवश्यक बजेट छुट्याइएको उपप्रधानमन्त्री पौडेलले बताउनुभयो ।