काठमाडौँ, असोज ४ गते ।
नेपालले भारततर्फको निकासीमा विभिन्न समयमा हुने गैरभन्सार अवरोध हटाउन आग्रह गरेको छ । भारतको नयाँ दिल्लीमा बिहीबार सम्पन्न नेपाल र भारतबिच व्यापार तथा पारवहनसम्बन्धी अन्तरसरकारी उपसमितिको बैठकमा नेपाली पक्षले यस्तो आग्रह गरेको हो ।
नेपालबाट भारततर्फ हुने जुट तथा स्टिलजन्य उत्पादनको निर्यातमा देखिएका अवरोध हटाउन र सहमति अनुसार नेपाली कृषि उत्पादनलाई भारतको ‘प्लान्ट क्वारेन्टाइन अर्डर’ मा समावेश गर्न बैठकमा विशेष अनुरोध गरिएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।
साथै भारतीय पक्षबाट कृषिजन्य, औषधीजन्य तथा दुग्धजन्य उत्पादनको बजार पहुँच, भन्सार सहजीकरण, औद्योगिक सम्पत्ति अधिकारलगायतका विषयमा सहजीकरण गर्न नेपाली पक्षलाई प्रस्ताव गरिएको मन्त्रालयले जनाएको छ । बैठकमा दुवै पक्षका प्रतिनिधिमण्डलले कृषि उपजको पारस्परिक बजार पहुँच र द्विपक्षीय मान्यताप्राप्त प्रयोगशालाको स्वीकृति गर्ने विषयमा छलफल भएको जनाइएको छ । बैठकमा सडक तथा रेलवे पूर्वाधारको निर्माण, स्तरोन्नति तथा सीमानाकामा परीक्षण प्रयोगशालाको स्थापनालगायतका विषयमा समेत छलफल भएको थियो ।
बैठकमा दुवै देशले आपसी प्राथमिकताप्राप्त क्षेत्रमा नेपाली पक्षले द्विपक्षीय सहकार्यका विद्यमान संयन्त्रलाई सक्रिय बनाउँदै यसअघि प्रस्ताव गरिएका विभिन्न ‘लेटर अफ एक्सचेन्ज’ का मसौदालाई छिट्टै अन्तिम रूप दिन आग्रह गरेको छ । यस्तै भारतीय पक्षले कृषि, औषधी तथा दुग्धजन्य उत्पादनको बजार पहुँच, भन्सार सहजीकरण र औद्योगिक सम्पत्ति अधिकारलगायतका क्षेत्रमा सहजीकरणका लागि नेपालसमक्ष प्रस्ताव राखेको मन्त्रालयले जनाएको छ ।
दुवै देशका प्रतिनिधिबिच सीमानाकामा सडक तथा रेलवे पूर्वाधारको निर्माण एवं स्तरोन्नति गर्ने र द्विपक्षीय मान्यताप्राप्त परीक्षण प्रयोगशाला स्थापना गर्नेबारे छलफल भएको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व मन्त्रालयका सहसचिव बुद्धबहादुर गुरुङ र भारतीय प्रतिनिधिमण्डलको नेतृत्व भारत सरकारको उद्योग तथा वाणिज्य मन्त्रालयका सहसचिव उज्ज्वलकुमार घोषले गर्नुभएको थियो ।