alliance khabar

आइतबार, बैशाख ०७, २०८२

सुर्खेत, वैशाख ७ गते ।

 मदन भण्डारी राजमार्गको पूर्वी सुर्खेत खण्डको कालोपत्रे गर्ने काम अन्तिम चरणमा पुगेको छ । पूर्वी सुर्खेतको भेडाबारीदेखि धुलियाबिटसम्म पर्ने ३५ किमी यो सडकमा कालोपत्रे गर्ने काम धमाधम भइरहेको छ । हालसम्म पूर्वी खण्डमा ९० प्रतिशत सडक कालोपत्रे भइसकेको छ भने अब १० प्रतिशत मात्र कालोपत्रे हुन बाँकी छ ।

मदन भण्डारी राजमार्ग आयोजना कार्यालय सुर्खेतका अनुसार पूर्वी सुर्खेतमा पर्ने ३५ किमी सडकमध्ये २९ किमी कालोपत्रे भइसकेको छ । कार्यालयका इन्जिनियर रेशम वलीले हालसम्म २९ किलोमिटर सडक कालोपत्रे भइसकेको र बाँकी रहेको छ किलोमिटर सडकमा पनि कालोपत्रेको काम भइरहेको बताउनुभयो । उहाँका अनुसार यो खण्डमा पर्ने पुलहरूको काम पनि सम्पन्न भई नियमित यातायात सञ्चालन भइरहेका छन् ।

इन्जिनियर वलीले मदन भण्डारी राजमार्गको पूर्वी खण्डको काम अब अन्तिम चरणमा रहेको बताउनुभयो । यो खण्डमा निर्माण गर्नुपर्ने अधिकांश पुल निर्माण भइसके, अब एउटा पुल मात्र ढलान गर्न बाँकी छ । वीरेन्द्रनगर, लेकबेँसी, गुर्भाकोट भेडाबारीसम्म जोडिने यो सडक निर्माण गर्न २०७८ असार २८ गते ठेक्का सम्झौता गरिएको थियो । २०८० पुस २७ गतेसम्ममा स्तरोन्नतिको काम सक्ने गरी कालिका (केएस) वेदान्सी जेभी कैलालीले ठेक्का पाएको हो । २०८१ पुस २६ गतेसम्मका लागि म्याद थपिएको थियो ।

उक्त मितिमा काम नसकिएपछि पुनः म्याद थपिएको छ । अन्तिम पटक २०८२ भदौ २९ सम्म म्याद थप गरिएको हो । योजनाले १२ वटा पक्की पुल निर्माण गर्नुपर्ने भए पनि हालसम्म ११ वटा पुलको काम पूरा भएको छ । सात वटा पुल निर्माण गर्ने जिम्मेवारी पाएको हिम सगरमाथा कन्स्ट्रक्सन कम्पनी चितवनले सात वटै पुलको काम पूरा गरेको छ । कम्पनीले उक्त पुल बनाउन २६ करोड ५६ लाख रुपियाँमा सम्झौता गरेको थियो ।

पूर्वतिर कालोपत्रे भएर गाडी गुड्न थालेपछि त्यस क्षेत्रका बासिन्दाको जनजीवन सहज हुन थालेको छ । पहिले सदरमुकाम वीरेन्द्रनगर आउन तीन/चार घण्टा लाग्ने गरेकोमा अहिले बढीमा एक घण्टामा छोटिएको स्थानीय बताउँछन् । लेकबेँसी नगरपालिका–७ का वडाध्यक्ष रुद्रबहादुर नेपालीले अहिले सडक कालोपत्रे भएपछि काठमाडौँ जाने रात्रि बस पनि यही सडक भएर जाने गरेको बताउनुभयो । उहाँले सडक कच्ची हुँदा फाट्टफुट्ट आउने गाडी अहिले कालोपत्रे भएपछि नियमित आउने गरेको जानकारी दिनुभयो ।

सुरुमा भेडाबारी धुलियाबिट सडक नामकरण हुँदा झन्डै तीन दशकसम्म स्तरोन्नति हुन नसकेकोमा मदन भण्डारी राजमार्ग जोडिएपछि स्तरोन्नति भएको स्थानीयको भनाइ छ । मदन भण्डारी राजमार्गको पूर्वी खण्डको कालोपत्रे गर्ने काम अन्तिम चरणमा पुगे पनि पश्चिम क्षेत्रमा भने विवादले ढिलाइ भएको छ । चौकुने गाउँपालिकाको गुटु–बल्दे खण्डको बिजौरामा स्थानीयले अवरोध गरेपछि काम रोकिएको बताइएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल