alliance khabar

शुक्रबार, आश्विन ३०, २०८३

काठमाडौँ, असोज ३० गते ।

प्रधानमन्त्री वालेन्द्र शाहको निकट भविष्यमा हुने छिमेकी मुलुक भारतको औपचारिक भ्रमणको तयारी सुरु भएको छ । भ्रमणको औपचारिक मिति तोक्न बाँकी रहे पनि भ्रमणको प्रारम्भिक खाका तथा कार्यसूची निर्माण गर्न आवश्यक तयारी सुरु भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार दुई देशको आपसी सहमतिमा औपचारिक मिति तय हुने छ ।

मङ्सिरको पहिलो वा दोस्रो सातालाई सम्भावित प्रारम्भिक अवधि मानेर नेपाल र भारत सरकारले भ्रमणको तयारी थालेको भारत सरकार निकट समाचार संस्थाहरूले जनाएका छन् । गत चैत महिनामा नयाँ सरकार बनेसँगै भारतका प्रधानमन्त्री नरेन्द्र दामोदर मोदीले प्रधानमन्त्री शाहलाई भारत भ्रमणको औपचारिक निम्तो पठाउनुभएको परराष्ट्रमन्त्री शिशिर खनालले सार्वजनिक गरिसक्नुभएको छ । त्यसयता दुई देशबिचको सौहार्दपूर्ण द्विपक्षीय सम्बन्धलाई थप मजबुत बनाउन निकै सकारात्मक माहोल बनेको उहाँले सार्वजनिक समारोहमा बताउँदै आउनुभएको छ ।

सोही कुरालाई दृष्टिगत गर्दै दुई देशका विदेश मन्त्रालयले प्रधानमन्त्री शाहको भारत भ्रमणलाई थप ऊर्जाका साथ सफल बनाउने गृहकार्यलार्ई तीव्र बनाएका छन् । मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीले भन्नुभयो, “प्रधानमन्त्रीको औपचारिक भ्रमणको मिति दुवै देशको अनुकूल समयमा हुने गरी तोकिने सहमति अनुसार अहिले प्रारम्भिक तयारी भइरहेको छ ।” जस अनुसार मन्त्रालयले भ्रमणमा छलफल गरिने कार्यसूचीको प्रारम्भिक मसौदा तय गर्न आन्तरिक गृहकार्य गरिरहेको जानकारी उहाँले दिनुभयो । नयाँ सरकारको नयाँ प्रधानमन्त्रीको औपचारिक विदेश भ्रमणले आफैँमा महत्वपूर्ण अर्थ राख्छ । त्यसैले पनि भ्रमणलाई राष्ट्रिय हित अनुकूल बनाउँदै फलदायी बनाउनु आफैँमा अर्को महत्वपूर्ण विषय भएको प्रवक्ता क्षेत्रीले औँल्याउनुभयो ।

उहाँले थप्नुभयो, “नेपाल र भारत दुई देश मात्र हैन, निकटतम घनिष्ठ छिमेकी मुलुक हुन्, जुन सम्बन्धमा एकलाई चोट लाग्दा अर्कोलाई दुख्छ, त्यसैले पनि भ्रमणसँग औपचारिकता मात्र हैन संवेदनशीलता पनि जोडिएको छ ।”

सरकार बनेदेखि नै सुमधुरतातर्फ अग्रसर दुई देशको सम्बन्धमा भदौ १० गतेको भोटेकोशी हिमबाढीको विपत्पछि नयाँ ढङ्गको सहकार्य र साझेदारीसाथ अगाडि बढ्ने तयारीमा रहेको छ । जसको छनक प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसङ्घको ८१ औँ महासभामा सम्बोधनका क्रममा दिनुभएको छ । सम्बोधनका क्रममा प्रधानमन्त्री शाहले नेपाल–भारत–चीन सम्मिलित त्रिदेशीय संयन्त्र निर्माण गर्दै जलवायु परिवर्तनको असरसँग लड्न आपसी सहकार्य गर्ने प्रस्ताव गर्नुभएको थियो ।

मन्त्रालयका अनुसार उक्त संयन्त्र स्थापना गर्ने विषय पनि प्रधानमन्त्री शाहको भारत भ्रमणका क्रममा छलफल हुने तय छ । प्रवक्ता क्षेत्रीले भन्नुभयो, “सकारात्मक बनेको माहोलमा आपसी साझेदारीलाई बलियो बनाउने अवसर प्रधानमन्त्री शाहको भारत भ्रमण हुनेमा कुनै दुईमत छैन ।” भ्रमणका क्रममा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री शाह र भारतका प्रधामन्त्री मोदीबिच उच्चस्तरीय भेटवार्ता हुने छ ।

मन्त्रालयका अनुसार दुई देशको प्रतिनिधिमण्डलस्तरीय वार्तामा विपत्, पूर्वसूचना, विकासनिर्माण, आर्थिक साझेदारी, ऊर्जा सहकार्य, सीमा व्यवस्थापनलगायत सहकार्यका सबै विषयमा छलफल हुने छ । यीबाहेक हालै भएको नेपालको चिया निर्यातलाई थप प्रभावकारी बनाउने, रासायनिक मल आयातका लागि थप मार्गप्रशस्त गर्ने, पेट्रोलियम पाइपलाइनको विस्तार गर्ने, पर्यटन साझेदारी, एकीकृत जाँचचौकी थप गर्नेलगायतका विषयमा समझदारीसँगै केही सम्झौता हुन सक्ने मन्त्रालयको अनुमान छ ।

दुई देशको परामर्श संयन्त्रलगायत विभिन्न कार्यदलले औँल्याएका समस्या र चुनौतीको समाधानका लागि पनि उच्चस्तरीय वार्ता सहायक हुने जनाइएको छ । साथै भोटेकोशी हिमबाढी प्रभावित क्षेत्रमा नेपालले भारतको साथ खोजिरहेका बेला पुनर्निर्माणका लागि आवश्यक सहकार्यका लागि नेपाल सरकारका तर्फबाट अनुरोध गरिने छ । भारत सरकारले यसअघि नै पुनर्निर्माणमा नजिकबाट सघाउने वाचा गरे अनुसार आफ्नातर्फबाट सहयोगको घोषणा हुने अनुमान गरिएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न: ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न :
थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटी
समाचार शाखाः 9851246691
बिज्ञापन शाखाः 9851246691
वेबसाइट: www.alliancekhabar.com
[email protected]

हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल
सल्लाहकार : हरी पोखरेल
संवाददाता : ढकबहादुर श्रेष्ठ