तनहुँ, असोज ३० गते ।
कालीगण्डकी नदीमा आएको बाढीले पहुँच मार्ग बगाएपछि अवरुद्ध तनहुँको घिरिङ गाउँपालिका र पूर्वी नवलपरासीको बौदीकाली गाउँपालिका जोड्ने पुल पुनः सञ्चालनमा आएको छ। बाढीले क्षति पुर्याएको दुवैतर्फको पहुँच मार्ग पुनर्निर्माण सम्पन्न भएसँगै बिहीबारदेखि सवारी साधन सञ्चालनमा आएका हुन् ।
गत असोज ११ गते आएको बाढीले पुलको दुवैतर्फका पहुँच मार्ग बगाएपछि आवतजावत पूर्ण रूपमा ठप्प भएको थियो। नवलपरासीतर्फको पहुँच मार्ग एक साताअघि नै तयार भए पनि तनहुँतर्फको सडक बन्न बाँकी रहेकाले पुल सञ्चालनमा ढिलाइ भएको थियो । तनहुँतर्फको पहुँच मार्ग सडक डिभिजन कार्यालय तनहुँको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण गरिएको हो । सिद्धबाबा निर्माण सेवा, स्याङ्जाले युनिट रेट सम्झौताअनुसार बुधबार साँझसम्म मर्मत कार्य पूरा गरेपछि सडक सञ्चालनयोग्य बनेको हो । यस्तै, बौदीकाली गाउँपालिकातर्फको पहुँच मार्ग भने गाउँपालिकाको डोजर (जेसीबी) प्रयोग गरी स्थानीयको श्रमदानमा दुई दिन लगाएर तयार पारिएको गाउँपालिकाले जनाएको छ ।
क्षतिग्रस्त संरचनाको शीघ्र पुनर्निर्माणका लागि तनहुँ क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य इन्जिनियर श्रीराम न्यौपानेले सम्बन्धित निकायलाई ताकेता गर्दै स्थलगत निरीक्षण गर्नुभएको थियो । सांसद न्यौपानेले भन्नुभयो, “चाडपर्वका बेला नागरिकले आवतजावतमा सास्ती भोग्न नपरोस् भनेर पुनर्निर्माणलाई प्राथमिकता दिन निरन्तर पहल गरेका थियौँ । पुल सञ्चालनमा आएसँगै आवतजावत र मालसामान ढुवानी सहज भएको छ ।”
गैंडाकोट–पिपलडाँडा जोड्ने कालीगण्डकी करिडोरअन्तर्गत करिब १२ वर्षअघि निर्माण गरिएको यो फलामे पुल पोखरा, गैंडाकोट र रामपुर क्षेत्रलाई जोड्ने मुख्य मार्ग हो । पुल सञ्चालनमा आएसँगै तनहुँ, नवलपरासी, पाल्पा र स्याङ्जालगायतका क्षेत्रमा दसैँमा घर फर्कने यात्रुलाई ठुलो राहत पुगेको छ ।
