काठमाडौँ, असोज १५ गते ।
नेपाली कांग्रेस संस्थापन इतर समूहको १५औँ महाधिवेशनअन्तर्गत देशभर तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न भएको छ ।
कांग्रेस संस्थापन इतर समूहको केन्द्रीय निर्वाचन समितिका अनुसार आज भएको वडा अधिवेशनमा देशभरका ६ हजार ७४३ वडामध्ये ३ हजार १९१ वडामा अधिवेशन सम्पन्न भएको हो । समितिका संयोजक एकराज पोखरेलले कोशी प्रदेशमा एक हजार १५७ वडामध्ये ५७७, मधेस प्रदेशमा एक हजार २७१ मध्ये ४०२, बागमती प्रदेशमा एक हजार १२१ मध्ये ५६३ र गण्डकी प्रदेशमा ७६२ मध्ये ३६६ वडामा अधिवेशन सम्पन्न भएको जानकारी दिनुभयो ।
यसैगरी, लुम्बिनी प्रदेशका ९८३ वडामध्ये ५५०, कर्णाली प्रदेशका ७१५ मध्ये २७७ तथा सुदूरपश्चिम प्रदेशका ७३४ वडामध्ये ४५६ वडामा अधिवेशन सम्पन्न भएको संयोजक पोखरेलले बताउनुभयो । उहाँले बाँकी रहेका वडामा यही असोज १८ गतेसम्म अधिवेशन सम्पन्न गर्ने कार्यतालिका रहेको बताउनुभयो । समितिका अनुसार रसुवा जिल्लामा बाढी–पहिरोका कारण हुन नसकेको वडा अधिवेशन तथा बागलुङमा पार्टी नेता मणिभद्र शर्मा कँडेलकी श्रीमतीको निधनका कारण रोकिएको अधिवेशन यही असोज १६ गते सम्पन्न गर्ने तयारी गरिएको छ । कांग्रेस संस्थापन इतर समूहको १५औँ महाधिवेशन आगामी मङ्सिर २१ देखि २३ गतेसम्म हने तय भएको छ ।