काठमाडौँ, असोज १५ गते ।
रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि हाम्रो सनसाइन स्कुल फाउन्डेसनले आर्थिक सहयोग उपलब्ध गराएको छ । फाउन्डेसनले २५ लाख रुपियाँ सहयोग गरेको हो।
फाउन्डेसनका सचिव तथा हाम्रो सनसाइन स्कुलका प्रिन्सिपल दिवेश खत्रीले सो बराबरको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुनेगरी सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनालाई आज चेक हस्तान्तरण गर्नुभयो । खत्रीका अनुसार शिक्षक, कर्मचारी र संस्थाका सदश्यहरुको तर्फबाट रकम संकलन गरी कोषमा जम्मा गरिएको हो।
सो अवसरमा सञ्चारमन्त्री डा. तिमिल्सिनाले विपद्को समयमा गरिएको सहयोगप्रति धन्यवाद व्यक्त गर्नुहुँदै बाढी पीडितको राहत तथा पुनःस्थापनालाई सरकारले पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभयो।
स्कुलले विगत २५ वर्षदेखि आर्थिक रुपमा विपन्न बालबालिकालाई पूर्ण निःशुल्क शिक्षासहित दिवा खानाकोसमेत व्यवस्था गर्दैआएको खत्रीको भनाइ छ। कक्षा १२ सम्मको पढाइ हुने सो स्कुल काठमाडौँको बौद्धमा रहेको छ।