काठमाडौँ, साउन १५ गते ।
भारत सरकारको आर्थिक सहयोगमा निर्माण गरिएको दाङको तुलसीपुरस्थित राप्ती आँखा अस्पतालको नयाँ अपरेसन थिएटर भवन उद्घाटन गरिएको छ। लुम्बिनी प्रदेशअन्तर्गत दाङको तुलसीपुर उपमहानगरपालिका–४ स्थित अस्पतालको दुई तले अपरेसन थिएटर भवनको काठमाडौँस्थित भारतीय राजदूतावासका काउन्सलर गीतांजलि ब्रैंडन र तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काले संयुक्त रूपमा उद्घाटन गर्नुभएको हो।
उक्त भवन भारत सरकारको सहयोगमा सञ्चालित उच्च प्रभाव सामुदायिक विकास परियोजनाअन्तर्गत निर्माण गरिएको हो। यो परियोजना तुलसीपुर उपमहानगरपालिकामार्फत कार्यान्वयन गरिएको र दाङ जिल्लाको सातौँ उच्च प्रभाव सामुदायिक विकास परियोजना भएको भारतीय राजदूतावासले जनाएको छ।
उद्घाटन कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख, अस्पताल व्यवस्थापन तथा सरोकारवालाले भारत सरकारबाट प्राप्त सहयोगले स्वास्थ्य पूर्वाधार विकासमा योगदान पुगेको बताउनुभयो। नयाँ भवनले यस क्षेत्रको आँखा उपचार सेवा थप प्रभावकारी बनाउन सहयोग पुग्ने उहाँहरूको भनाइ थियो।
उच्च प्रभाव सामुदायिक विकास परियोजनाअन्तर्गत भारत सरकारले नेपालका सातवटै प्रदेशमा करिब ६ सय परियोजना अघि बढाएको जनाएको छ। लुम्बिनी प्रदेशमा मात्रै ६६ वटा यस्ता परियोजना सञ्चालनमा रहेका छन्, जसमा दाङ जिल्लाका सात वटा परियोजना समावेश छन्।
भारत सरकारले स्वास्थ्य र शिक्षा क्षेत्रमा सहयोग गर्दै लुम्बिनी प्रदेशका विभिन्न संस्थालाई १६९ वटा एम्बुलेन्स र ५९ वटा स्कुल बस प्रदान गरिसकेको जनाएको छ। दाङ जिल्लामा मात्रै १९ वटा एम्बुलेन्स र आठ वटा स्कुल बस उपलब्ध गराइएको छ। सन् २०२२ जनवरीमा राप्ती आँखा अस्पताललाई समेत एउटा एम्बुलेन्स प्रदान गरिएको थियो।
भारतीय राजदूतावासले नेपाल र भारतबीच रहेको बहुआयामिक सहकार्यअन्तर्गत उच्च प्रभाव सामुदायिक विकास परियोजनाले प्राथमिकताका क्षेत्रमा पूर्वाधार विकास र सेवा विस्तारमा सहयोग पुर्याउँदै आएको जनाएको छ।