काठमाडौँ, साउन १४ गते ।
सङ्घीय संसद्मा प्रतिनिधित्व गरेका सहित नौ दलले पारस्परिक भाइचारा र सामाजिक सद्भाव खलबल्याउने कुनै पनि प्रकारका अवाञ्छित गतिविधि र उत्तेजनामा नआउन सम्पूर्ण देशवासीलाई अपिल गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा बुधबार सम्पन्न सर्वदलीय बैठकले सामाजिक सद्भाव र शान्तिका लागि अपिल गर्दै आवेग र मुठभेडले समस्या समाधान नहुने र थप जटिलता मात्र निम्त्याउने यथार्थप्रति सबै सचेत हुनुपर्ने निष्कर्ष निकालेको हो ।
सर्वदलीय बैठकमा सुनसरीसहित विभिन्न जिल्लामा हालै विकसित अत्यन्तै संवेदनशील, दु:खद घटनाक्रम र त्यसले उत्पन्न गरेको असहज परिस्थितिको गम्भीर समीक्षा गरिएको छ । साम्प्रदायिक विद्वेष फैलिन सक्ने परिस्थिति रोक्न सबै राजनीतिक दल एकै ठाउँमा उभिएका हुन् । बैठकपछि सभापति लामिछाने, नेपाली कांग्रेसका सभापति गगनकुमार थापा, नेपाली कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेल, श्रम संस्कृति पार्टीका महासचिव आरेन राई, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सिके) राउत र जनता समाजजादी पार्टी नेपालका नेता प्रकाश अधिकारीले संयुक्त अपिल जारी गर्नुभएको छ । अपिलमा नेपालको पहिचानै विविधताबिचको एकता, सहिष्णुता र सहअस्तित्व भएको प्रस्ट पारिएको छ । प्रतिनिधि सभा निर्वाचन तयारी बैठकपछि पहिलो पटक प्रमुख राजनीतिक शक्तिले साझा अपिल जारी गरेका हुन् । अपिलमा शान्तिपूर्ण संवाद र सहमतिको आह्वान गर्दै लोकतन्त्रमा जस्तोसुकै जटिल असन्तुष्टि र समस्या समाधान पनि शान्तिपूर्ण संवाद र सहमतिका माध्यमबाट मात्र सम्भव हुने उल्लेख छ । नौ दलले भनेका छन्, “आफ्ना माग र असन्तुष्टि शान्तिपूर्ण रूपमा राख्न सम्बन्धित सबै पक्षलाई हामी आह्वान गर्दछौँ ।”
सर्वदलीय बैठकले समाजमा शान्ति र सद्भाव कायम राख्न केन्द्रको मात्र प्रयास पर्याप्त नहुने निष्कर्ष निकालेको छ । नौ दलले प्रदेश, जिल्ला र स्थानीय तहमा तत्काल सर्वदलीय तथा सर्वपक्षीय बैठक आयोजना गर्न, संवादलाई तल्लो तहसम्म पु¥याउन र नागरिक स्तरमा विश्वासको वातावरण निर्माण गर्न आ–आफ्ना पार्टीका विभिन्न तहका समितिलाई निर्देशित गरेका छन् । साथै दलहरूले स्थानीय स्तरमा धार्मिक अगुवा, नागरिक समाज र स्थानीय प्रशासनलाई जोडेर शान्ति कायम राख्न सक्रिय हुन आवश्यक रहेको बताएका छन् । दलहरूले यसका लागि आवश्यक पहलकदमी, निरन्तर समन्वय र अनुगमन गर्दै नेतृत्वदायी भूमिका निर्वाह गर्न प्रतिबद्ध रहेको बताएका छन् ।
अपिलमा पछिल्ला घटनाक्रममा परी ज्यान गुमाउनेप्रति गहिरो दु:ख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरिएको छ । अपिलमा भनिएको छ, “शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछौँ । साथै घटनामा परी घाइते भएका सम्पूर्ण नागरिक तथा सुरक्षाकर्मीको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौँ ।”
एकजुट हुनु पर्छ : लामिछाने
रास्वपा सभापति रवि लामिछानेले देशमा विद्यमान चुनौती सामना गर्न र सामाजिक सद्भाव कायम राख्न सबै राजनीतिक दल जिम्मेवार भएर एकै ठाउँमा उभिनुपर्ने बताउनुभयो । सर्वदलीय बैठकपछि उहाँले राजनीतिक दलका शीर्षनेताबिच समसामयिक घटनाक्रम, अनुभव र मार्गनिर्देशनका विषयमा सघन छलफल भएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “विगतमा पनि देशमा सङ्कट पर्दा राजनीतिक दल जिम्मेवार भएर एकै ठाउँमा उभिने परम्परा रहेको छ । अहिलेको परिस्थितिमा पनि साम्प्रदायिक सद्भाव र राष्ट्रिय एकता जोगाउनु हामी सबैको साझा दायित्व हो ।”
सभापति लामिछानेले कुनै पनि सम्प्रदायप्रति घृणा, द्वेष वा आक्रमण हुनेखालका गतिविधिले कसैको हित नगर्ने भएकाले यस्ता संवेदनशील विषयमा सबै राजनीतिक दल, नागरिक समाज र सञ्चार माध्यमले संयम अपनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले प्रधानमन्त्री वालेन्द्र शाह र गृहमन्त्री सुधन गुरुङले आफ्नो जिम्मेवारी अनुसार काम गरिरहेको प्रस्ट पार्दै सरकारले शान्तिसुरक्षा कायम गर्न आफ्नै ढङ्गले प्रयास गरिरहेको बताउनुभयो ।
सहिष्णुता जोगाऔँ : थापा
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुलुकमा विद्यमान धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कायम राख्न सबै राजनीतिक दल एक ठाउँमा उभिनुपर्ने बताउनुभयो । उहाँले रास्वपाका सभापति रवि लामिछानेले समयमै सर्वदलीय बैठकको पहल गरेकोमा धन्यवाद ज्ञापन गर्दै कांग्रेस सामाजिक सद्भावका पक्षमा दृढ रहेको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “धार्मिक सहिष्णुता र सामाजिक सद्भाव नेपाली समाजको अन्तरनिहित शक्ति हो । यो कसैले दिएको वरदान नभई बर्सौंदेखि नेपाली समुदायले आर्जन गरेको पुँजी हो, यसलाई जोगाउनु हामी सबैको साझा दायित्व हो ।”
सरकारको प्रयासमा समर्थन : प्रचण्ड
पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजनीतिक दलले समस्या समाधानका लागि पहल गर्नु सकारात्मक पक्ष भएको र शान्ति तथा सद्भाव ¥यालीले शान्तिपूर्ण वातावरण पुनस्र्थापनामा महत्वपूर्ण योगदान पु¥याउन सक्ने बताउनुभयो । उहाँले भन्नुभयो, “घटनास्थलमा केही शङ्कास्पद तथा सम्भावित गैरनेपाली व्यक्तिको उपस्थिति रहेको भन्ने जानकारी प्राप्त भएको छ, जुन गम्भीर अनुसन्धानको विषय हो । सरकारले निष्पक्ष र गहन अनुसन्धान गरी सत्यतथ्य सार्वजनिक गर्नु पर्छ ।”
सुरक्षा सुदृढ बनाउनु पर्छ : पोखरेल
नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले पछिल्लो समय देशका विभिन्न भागमा देखिएका सामाजिक तथा साम्प्रदायिक सद्भाव खल्बलिने घटनाप्रति चिन्ता व्यक्त गर्नुभयो । उहाँले सुरक्षा संयन्त्र सुदृढ बनाउनुपर्ने बताउनुभयो । उहाँले सामाजिक सद्भाव जोगाउन आफ्नो पार्टीले सधैँ सकारात्मक भूमिका निर्वाह गर्ने स्पष्ट पार्नुभयो ।