पञ्चकोशी (दैलेख), साउन १३ गते ।
दैलेखमा ‘घरमै राहदानी वितरण सेवा’ अन्तर्गत पछिल्लो समय जिल्लाका ११ वटा स्थानीय तहका सेवाग्राहीको घर घरमा पुगेर राहदानी वितरण सुरु गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय दैलेखले जिल्ला हुलाक कार्यालयमार्फत सञ्चालन गरेको सेवाबाट हालसम्म १०१ जना सेवाग्राही लाभान्वित भएका छन् । बाँकी तयारी अवस्थामा रहेकाको विवरण सङ्कलन सुरु गरिएको हुलाक कार्यालय दैलेखले जनाएको छ । नेपाल सरकारको शासकीय सुधारसम्बन्धी एक सय कार्यसूची अन्तर्गत सरकारी सेवालाई नागरिकको घरदैलोमै पु¥याउने उद्देश्यले जिल्ला हुलाक कार्यालयले गत जेठ २२ देखि घरमै राहदानी वितरण सेवा सुरु गरेको हो ।
जिल्ला हुलाक कार्यालयले जिल्लाभर पालिकास्तरीय हुलाक कार्यालय अन्तर्गत कार्यक्षेत्र निर्धारण गरी जिम्मेवारी बाँडफाँट गरेको छ । आवश्यक तालिम तथा निर्देशनपछि हुलाकमार्फत राहदानी सुरक्षित रूपमा सम्बन्धित सेवाग्राहीको घरमै पु¥याउने व्यवस्था गरिएको कार्यालयले जनाएको छ ।
जिल्ला हुलाक कार्यालय प्रमुख निर्मला थापाले घरमै राहदानी वितरण गर्ने व्यवस्था हुँदा नागरिकको समय तथा खर्च दुवै बचत भएको र सरकारी सेवा प्रवाहलाई थप सहज बनाउन सहयोग पुगेको बताउनुभयो । सरकारले राहदानीसँगै नागरिकताको प्रतिलिपि, सवारीचालक अनुमतिपत्रलगायत अन्य सरकारी कागजातसमेत हुलाकमार्फत घरमै उपलब्ध गराउने व्यवस्था मिलाइरहेको पनि उहाँले जानकारी दिनुभयो । घरमै राहदानी प्राप्त गर्न चाहने सेवाग्राहीले हुलाक शुल्कस्वरूप ५५ रुपियाँ बराबरको टिकट खर्च बेहोर्नुपर्ने व्यवस्था गरिएको छ । यस सेवाले राहदानी लिन पटक पटक जिल्ला सदरमुकाम वा प्रशासन कार्यालय पुग्नुपर्ने बाध्यता हटाएको छ ।