नेपालगन्ज, साउन १२ गते । बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा अत्याधुनिक बिरामी कुरुवा घर सञ्चालनमा आएको छ । अस्पतालका निर्देशक डा. निरज भट्टराईका अनुसार लायन्स क्लब नेपालगन्ज खजुराको सहकार्यमा अस्पताल परिसरमा १५ कोठे अत्याधुनिक बिरामी कुरुवा घर सञ्चालनमा ल्याइएको हो ।
निर्देशक भट्टराईले कुरुवा घर सञ्चालनमा आएपछि लामो समयसम्म चल्ने क्यान्सर उपचारका क्रममा बिरामी, बिरामीका आफन्त तथा कुरुवाले बस्न र खानका लागि भोग्दै आएको समस्या कम हुने अपेक्षा गरिएको बताउनुभयो ।
उहाँले कुरुवाहरूले न्यूनतम शुल्कमा सुरक्षित र सुविधासम्पन्न कोठा प्रयोग गर्न सक्ने जानकारी दिनुभयो । कोठामा टेलिभिजन, आधुनिक एट्याच बाथरुम तथा २४सै घण्टा निःशुल्क उच्च गतिको इन्टरनेट सेवाको सुविधा रहेको उहाँले बताउनुभयो ।
कुरुवा घरलाई व्यवस्थित बनाउन अस्पतालले व्यवस्थापन समिति गठन गरेको जनाएको छ । डा. सुवास मेहताको संयोजकत्वमा चार सदस्यीय बिरामी कुरुवा घर व्यवस्थापन समिति गठन गरिएको निर्देशक भट्टराईले बताउनुभयो । समितिका सदस्यमा पूजा उपाध्याय, राजेश रिजाल र भुवन खनाल रहनुभएको छ ।
पश्चिम नेपालका विभिन्न दुर्गम जिल्लाका साथै छिमेकी मुलुक भारतबाट समेत ठुलो संख्यामा क्यान्सरका बिरामी उपचारका लागि खजुरास्थित क्यान्सर अस्पताल आउने गरेका छन् ।
अस्पताललाई थप जनमुखी र सेवामूलक बनाउने अभियानमा आफू निरन्तर लागिरहेको बताउँदै निर्देशक डा. भट्टराईले अझै धेरै सुधार गर्न बाँकी रहेको बताउनुभयो ।
चितवनको भरतपुरदेखि पश्चिम नेपालतर्फ क्यान्सरका बिरामीका लागि यो एक मात्र अस्पतालका रूपमा रहेको उल्लेख गर्दै खजुराका नागरिक अगुवा महेन्द्र मल्लले अस्पताल सञ्चालनमा आएपछि पश्चिम नेपालका बिरामीलाई उपचारका लागि भरतपुर वा भारत जानुपर्ने बाध्यता धेरै हदसम्म हटेको बताउनुभयो ।
उहाँले अस्पतालमा चिकित्सकलगायत स्वास्थ्यकर्मीको सरकारी दरबन्दी कायम गर्नुका साथै अत्याधुनिक उपकरण ल्याउनुपर्ने आवश्यकतामा जोड दिनुभयो ।