सिन्धुलीमाढी, साउन १० गते ।
सरकारले शासकीय सुधार कार्यक्रम अन्तर्गत सुरु गरेको हुलाकमार्फत घरमै राहदानी पु-याउने सेवा सिन्धुलीमा प्रभावकारी बन्दै गएको छ । सेवा सुरु भएको करिब दुई महिनामै जिल्लाका १८२ जनाले घरमै राहदानी प्राप्त गरेका छन् । सेवाग्राहीलाई राहदानी लिन सदरमुकाम आउनुपर्ने झन्झट हटाउन जिल्ला प्रशासन कार्यालय सिन्धुली र जिल्ला हुलाक कार्यालयबिच २०८३ वैशाख २९ गते समझदारी भएको थियो ।
सोही समझदारी अनुसार गत जेठ ३ गतेदेखि सेवाग्राहीको विवरण सङ्कलन सुरु गरिएको जिल्ला हुलाक कार्यालयले जनाएको छ । जिल्ला हुलाक कार्यालयका डाँक शाखा प्रमुख वेदराज काफ्लेका अनुसार हुलाकमार्फत पहिलो पटक गत जेठ ११ गते गोलञ्जोरमा घरमै पुगेर राहदानी हस्तान्तरण गरिएको थियो ।
उहाँका अनुसार घरमै राहदानी बुझ्न चाहने सेवाग्राहीले हुलाक दर्ता राजस्वबापत ५५ रुपियाँ शुल्क तिर्नु पर्छ । राहदानीको तौल ५० ग्रामभन्दा बढी भएमा नियमानुसार थप शुल्क लाग्ने व्यवस्था छ । अधिकांश सेवाग्राहीले राहदानीका लागि फोटो खिचाएको करिब १५ दिनभित्रै घरमै राहदानी प्राप्त गरिरहेका छन् । भौगोलिक दुरी र स्थान अनुसार दुई÷तीन दिन समय फरक पर्न सक्ने उहाँको भनाइ छ । जिल्ला हुलाक कार्यालयका अनुसार हालसम्म घरमै राहदानी प्राप्त गर्नेमा दुधौली नगरपालिकाका सबैभन्दा धेरै ८६ जना रहेका छन् ।
राहदानी वितरणलाई सहज बनाउन जिल्ला प्रशासन कार्यालयको राहदानी शाखामै हुलाक कार्यालयका एक कर्मचारी खटाइएको छ । सहायक प्रमुख जिल्ला अधिकारी दीपेन्द्र पौडेलका अनुसार राहदानी बनाउन आउने सेवाग्राहीको इच्छा अनुसार विवरण सङ्कलन गरी हुलाकमार्फत राहदानी घरमै पठाउने व्यवस्था गरिएको छ ।
उहाँले गत आर्थिक वर्ष २०८२/८३ मा जिल्लाबाट पाँच हजार नयाँ राहदानी जारी भएको र बालबालिकाका २८ वटा द्रुत राहदानीका लागि सिफारिस गरिएको जानकारी दिनुभयो । सहायक प्रजिअ पौडेलका अनुसार जिल्ला प्रशासन कार्यालयमा छुट्टै कार्यकक्ष स्थापना गरेर सेवा सञ्चालन गरिएको छ ।