alliance khabar

आइतबार, आश्विन १८, २०८३

काठमाडौं, असोज १८ गते ।

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संसददेखि राजनीतिक दलभित्रसम्म जनताका प्रश्न, असहमति र विचारका लागि खुला ठाउँ आवश्यक रहेको बताउनु भएको छ । संसद र पार्टीभित्र पर्याप्त खुलापन नभएकाले देशलाई खुलामञ्च आवश्यक रहेको उहाँले बताउनु भएको हो । लोकतन्त्रमा जनताको आवाज बन्द गर्न नमिल्ने उहाँले बताउनुभयो ।

नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै थापाले १० वर्षपछि खुलामञ्च खुलेको उल्लेख गर्दै  यो काठमाडौँको एउटा चौर मात्रै नभएको बताउनुभयो। नेपाली राजनीतिक आन्दोलनमा खुलामञ्चले महत्वपूर्ण भूमिका निर्वाह गरेको र यहीँबाट धेरै राजनीतिक दल तथा नेताले आफ्नो राजनीतिक यात्रा अघि बढाएको उहाँले  स्मरण गर्नुभयो।

‘खुलामञ्च १० वर्षपछि खुलेको छ। यो काठमाडौंको चौर मात्रै होइन,’ थापाले भन्नुभयो, ‘यहाँ बसेर ठुलो दल बनेका छन्, यहीँबाट साना पनि बनेका छन्।’ जननायक बीपी कोइराला, गणेशमान सिंह र गिरिजाप्रसाद कोइरालाले समेत यही खुलामञ्चबाट भाषण गरेको स्मरण गर्दै थापाले खुलामञ्चले फरक विचार र मतभेदलाई एउटै ठाउँमा ल्याएर संवाद गर्ने अवसर दिएको बताउनुभयो।

‘खुलामञ्चले मतभेदलाई एकै ठाउँमा राख्न सहयोग गर्छ,’ उहाँले भन्नुभयो । थापाले अब यस्ता खुलामञ्च देशका विभिन्न ठाउँमा आवश्यक रहेको बताउनुभयो। त्यसका लागि सबैभन्दा पहिले सिंहदरबार र संसदभित्रै खुलापन आवश्यक रहेको उहाँको भनाइ थियो। ‘संसद अहिले खुला छैन। जनतालाई प्रधानमन्त्रीले जनताको ठुलो कुरा नसुनेसम्म खुला रहँदैन,’ उहाँले भन्नुभयो।

सत्तामा रहेकाहरूले जनताको प्रश्न सुन्नुपर्ने र जनतासँग संवाद गर्नुपर्ने भन्दै थापाले लोकतन्त्रमा जनताको आवाजलाई बन्द गर्न नहुने बताउनुभयो। संसद जनताको आवाज र प्रश्नको प्रतिनिधित्व गर्ने थलो भएकाले त्यसलाई थप खुला र उत्तरदायी बनाउनुपर्ने उहाँको भनाइ थियो।थापाले पहाडदेखि तराईसम्म र भौतिक ठाउँदेखि विद्युतीय माध्यमसम्म खुला संवादका थलो आवश्यक रहेको बताउनुभयो। नागरिकले आफ्ना कुरा राख्न र नेतृत्वलाई प्रश्न गर्न पाउने वातावरण देशभर बनाउनुपर्ने उहाँको धारणा थियो।

पार्टीभित्र पनि यही संस्कार विकास गर्नुपर्नेमा जोड दिँदै थापाले नेतामाथि प्रश्न उठाउँदा पार्टी सदस्यता नै गुम्ने अवस्था अन्त्य गर्नुपर्ने बताउनुभयो। ‘पार्टीभित्र पनि खुलामञ्च चाहिएको छ। नेतालाई प्रश्न गर्दा सदस्यता नकाटियोस्,’ उहाँले भन्नुभयो।

उहाँले फरक मत राख्ने, नेतृत्वलाई प्रश्न गर्ने र आलोचना गर्ने अधिकारलाई पार्टीभित्रै संस्थागत गर्नुपर्ने बताउनुभयो। लोकतन्त्र बाहिर मात्रै खोजेर नहुने भन्दै थापाले राजनीतिक दलको आन्तरिक संरचना र कार्यशैली पनि लोकतान्त्रिक हुनुपर्ने धारणा राख्नुभयो।

१० वर्षपछि खुलामञ्चमा कांग्रेसको महाधिवेशन आयोजना हुनु पनि खुला संवाद र जनताबीचको सम्बन्धलाई पुनः स्थापित गर्ने प्रतीक भएको उहाँको भनाइ थियो। खुलामञ्चलाई राजनीतिक सभा गर्ने ठाउँका रूपमा मात्रै नभई प्रश्न, संवाद, असहमति र विचार आदानप्रदानको खुला थलोका रूपमा विकास गर्नुपर्ने उहाँले बताउनुभयो।

सो अवसरमा उहाँले सत्ता र नेतृत्वमा उही अनुहार दोहोरिरहने प्रवृत्तिले नेपालको राजनीति ‘म्युजिकल चियर’ जस्तो बनेको बताउनुभयो। यस्तो प्रवृत्तिले सबै राजनीतिक दल र नेता एउटै हुन्, सबै खराब छन् भन्ने सन्देश जनतामा गएको र त्यसकै परिणाम गत भदौ २३ र २४ गतेको आएको उहाँको भनाइ छ।

थापाले प्रधानमन्त्री बनेका व्यक्ति फेरि प्रधानमन्त्री बन्न खोज्ने, नेता बनेका व्यक्ति फेरि नेतृत्वमा दोहोरिरहने र मन्त्री बनेका व्यक्ति पनि पटकपटक सत्तामा जाने प्रवृत्तिले जनतामा राजनीतिप्रति वितृष्णा बढाएको बताउनुभयो।

‘म्युजिकल चियरजस्तो बनेको थियो। प्रधानमन्त्री बनेका फेरि बन्न मन लाग्ने, नेता बनेका फेरि बनिरहने, मन्त्री पनि बनिरहने, सत्ता नछोड्ने,’ थापाले भन्नुभयो, ‘यसले सबै पार्टी र नेता सबै एउटै हुन्, सबै खराब हुन् भन्ने सन्देश गयो।’

राजनीति समाजका हरेक क्षेत्रमा हाबी भएको भन्दै थापाले सामाजिक सञ्जालदेखि सार्वजनिक जीवनसम्म अत्यधिक राजनीतिकरण भएको बताउनुभयो। फेसबुकदेखि ट्विटरलगायतका माध्यममा हरेक विषयलाई राजनीतिक दृष्टिले हेर्ने प्रवृत्ति बढेको उहाँको भनाइ थियो।

थापाले लोकतन्त्र र जनतालाई प्रत्यक्ष सेवा तथा परिणामसँग जोड्ने पुलको काम कांग्रेसले गर्नुपर्ने समेत बताउनुभयो । मुलुकमा लामो राजनीतिक संघर्ष र परिवर्तन भए पनि रोजगारी सिर्जना, युवा पलायन रोक्ने र जनताको जीवनस्तर सुधार्ने विषयमा अब सबै राजनीतिक दल मिलेर गम्भीर समीक्षा गर्नुपर्ने उहाँको भनाइ छ।

राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्वमा सरकार बनेको वर्तमान राजनीतिक अवस्थालाई पनि विगतको राजनीतिक यात्रासँग जोडेर हेर्नुपर्ने थापाले बताउनुभयो ।

‘३५ वर्षदेखि युद्ध किन व्यहोर्‍यौँ ? शान्ति प्रक्रियामा पनि यहीँ भयो। यही ३५ वर्षभित्र सबै गाउँ रित्तिए। किन रोजगारी भएनरु युवा किन पलायन भयो ?’ थापाले प्रश्न गर्नुभयो।

]मुलुकले लामो समय राजनीतिक संघर्ष र संक्रमण व्यहोरे पनि त्यसको प्रतिफल जनताको दैनिक जीवनमा पर्याप्त रूपमा पुग्न नसकेको भन्दै उहाँले यसको कारण सबै राजनीतिक दलले मिलेर खोज्नुपर्ने बताउनुभयो। राजनीतिक परिवर्तनसँगै आर्थिक र सामाजिक रूपान्तरणलाई पनि सँगसँगै अघि बढाउनुपर्ने उहाँको भनाइ थियो।

‘अति राजनीति पनि छ। फेसबुकदेखि ट्विटरदेखि सबै क्षेत्रमा राजनीति हुन्छ। फेरि जनता हाइपर पोलिटिक्सतिर गयो। जे भए पनि राजनीतिको आँखाले हेर्न थालियो,’ उहाँले भन्नुभयो। राजनीतिक दल र नेतृत्वप्रतिको असन्तुष्टि विस्तारै बढ्दै गएर ‘भुसको आगो’ जस्तो बनेको थापाले बताउनुभयो। त्यसले कुनै एउटा दल वा नेतालाई मात्रै नभई समग्र राजनीतिक प्रणाली र नेतृत्वलाई नै प्रभावित गरेको उहाँको भनाइ थियो। ‘यो भुसको आगोले सबैलाई एकैपटक खायो,’ उहाँले भन्नुभयो ।

थापाले दुई पार्टी मिलेर बनेको दुईतिहाइको सरकार र त्यसको कार्यशैलीबारे जनतासँग पर्याप्त संवाद हुन नसकेको बताउनुभयो। राजनीतिक दलहरूले बदलिँदो जनभावना र असन्तुष्टिलाई समयमै बुझ्न नसक्दा  भदौ २३ र २४ गतेको परिस्थिति आएको उहाँको भनाइ थियो। ‘दुई पार्टी मिलेर बनेको थियो दुईतिहाइको सरकार। सबैले थाहै पाएनन्, जसका कारण भदौ २३ र २४ आयो,’ थापाले भन्नुभयो।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न: ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न :
थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटी
समाचार शाखाः 9851246691
बिज्ञापन शाखाः 9851246691
वेबसाइट: www.alliancekhabar.com
[email protected]

हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल
सल्लाहकार : हरी पोखरेल
संवाददाता : ढकबहादुर श्रेष्ठ