काठमाडौँ, असोज १८ गते ।
नेपाली कांग्रेसको १५ औँ महाधिवेशन काठमाडौँमा आइतबारदेखि सुरु हुँदै छ । दिउँसो २:०० बजे खुलामञ्चमा महाधिवेशन उद्घाटन कार्यक्रम राखिएको छ । महाधिवेशनमा स्वदेश तथा विदेशबाट गरी सात हजारभन्दा बढी प्रतिनिधि सहभागी हुने छन् ।
शनिबार खुलामञ्चमा कांग्रेसले गरेको पत्रकार सम्मेलनमा कांग्रेस केन्द्रीय प्रवक्ता देवराज चालिसेले महाधिवेशनका सम्पूर्ण तयारी पूरा भएको जानकारी गराउनुभयो । उहाँले देश तथा विदेशबाट महाधिवेशन प्रतिनिधि सहभागी हुन उत्साहका साथ काठमाडौँ आउने क्रम जारी रहेको बताउनुभयो । उहाँले पार्टी केन्द्रीय कार्यालय सानेपामा महाधिवेशन प्रतिनिधिको दर्ता भइरहेको जानकारी दिनुभयो । प्रवक्ता चालिसेका अनुसार उद्घाटन सत्रपछि असोज १९ र २० गते बन्द सत्र सञ्चालन हुने छ । बन्द सत्रमा सभापति, उपसभापति, महामन्त्री र कोषाध्यक्षले अलग अलग प्रतिवेदन पेस गर्ने कार्यक्रम राखिएको छ । प्रतिवेदनमाथि भूगोलका आधारमा समूह बनाइ तीन फरक हलमा छलफल गर्ने तयारी छ । हरेक हलमा रहेका डिजिटल बोर्डबाट सहभागीले प्रस्तुत भएका प्रतिवेदन सुन्न र हेर्न पाउने व्यवस्था गरिने प्रवक्ता चालिसेले जानकारी दिनुभयो ।
महाधिवेशन अन्तर्गत निर्वाचन समितिले असोज १९ गते अपराह्न २:०० देखि साँझ ६:०० बजेसम्म उम्मेदवारी मनोनयनको समय निर्धारण गरेको छ । मनोनयन राष्ट्रिय सभागृहमा गरिने प्रवक्ता चालिसेले जानकारी दिनुभयो । निर्वाचनका कार्यक्रम आवश्यकता अनुसार परिमार्जन हुन सक्ने निर्वाचन समितिले जनाएको छ । प्रवक्ता चालिसेले महाधिवेशन प्रतिनिधिले सहभागिता दर्ताबापत तीन हजार पाँच सय रुपियाँ बुझाउनुपर्ने छ । आवास व्यवस्थापन समितिले हरेक निर्वाचन क्षेत्र, जिल्ला र प्रदेशबाट एक/एक जना संयोजक तोकेर सम्बन्धित भूगोलका महाधिवेशन प्रतिनिधिका लागि बसोबासको समन्वय गर्ने प्रबन्ध गरेको छ । सहभागीले आवाससम्बन्धी जानकारी ह्वाट्सएप, एआई नम्बर र एसएमएसबाट प्राप्त गर्ने व्यवस्था मिलाइएको छ ।
इतिहासमा कांग्रेस महाधिवेशन
