काठमाडौँ, असोज १८ गते ।
साँझको शान्त वातावरण, कवितामय माहोल र शब्दका सुन्दर लयहरू । कतै प्रेमका अनुभूति, कतै जीवनका भोगाइ, कतै समाजका विसङ्गति त कतै समयसँगै बगिरहेका स्मृतिहरू । यस्तै भाव र अनुभूतिकाबिच शनिबार इटहरीस्थित कोसी कलेजको सभाहलमा १५ जना कविले आफ्ना कविता सुनाउनुभयो ।
‘काव्य डबली’को चौथो श्रृङ्खलामा कविहरूले आ–आफ्ना सिर्जनामार्फत जीवनका विविध पाटा उजागर गर्नुभएको थियो ।
कविताका शब्दमा कतै पीडा सुनिए, कतै प्रेमका स्पन्दन भेटिए भने कतै समाज र समयप्रतिको प्रश्न मुखरित भए । शान्त साँझमा जीवनका अनेक रङमा प्रस्तुत भएका कविताले उपस्थित श्रोताहरूलाई भावनात्मक स्पर्श गरेको थियो ।
कार्यक्रममा सीमा आभासले ‘प्रार्थना’, गगन योक्पाङ्देनले ‘पानीको जीवन’, करुणा राईले ‘सपथ’, प्रकाश दिप्साली राईले ‘डोजर’ र प्रदीप योङहाङले ‘भस्मासुर’ शीर्षकको कविता सुनाउनुभयो । त्यसैगरी दीपा दाहालले ‘चुरोट र प्रेम’, प्रयाग न्यौपानेले ‘अन्पी मुसहरको माटो’, प्रज्ज्वल पराजुलीले ‘यादहरूको गन्तव्य’, मीना श्रेष्ठले ‘अनवरत युद्ध’ र रामप्रसाद खरेलले ‘बा’ शीर्षकका कविता वाचन गर्नुभयो ।
चन्द्र गुरुङले ‘चुपचाप बगिरहेको त्रिशूली’, देवान किरातीले ‘मृत्युको गुलाफ’, पुष्पा बोगटीले ‘प्रश्नहरूको घेरा’, मनु मञ्जिलले ‘दसैँ’ र विवश पोखरेलले ‘बग्दै बग्दै जाने छोरासँग’ शीर्षकका कविता प्रस्तुत गर्नुभयो ।
कविताका शीर्षक फरक थिए, भावका रङ फरक थिए, तर सबै सिर्जनाले मानवीय संवेदना, जीवनका अनुभूति र समयका प्रश्नलाई कुनै न कुनै रूपमा छोएका थिए । कसैले शब्दमा प्रेमको कोमलता उन्नुभयो, कसैले पीडालाई कवितामा उतार्नुभयो त कसैले समाजका दृश्यलाई कविताको ऐनामा देखाउनुभएको थियो ।
कार्यक्रमलाई नाट्यकर्मी सोनु जयन्तीले सहजीकरण गर्नुभएको थियो । इटहरीमा हरेक दुई महिनामा ‘काव्य डबली’कार्यक्रम आयोजना गरिदैँ आएको छ ।
