गलकोट (बागलुङ), असोज १६ गते ।
गलकोट नगरपालिका–९ को वडा कार्यालय भवन निर्माण भएको पाँच वर्ष मात्रै भएको थियो। तीन रोपनी जग्गामा निर्माण गरिएको भवनको रङसमेत बिग्रिएको थिएन। स्थानीयवासीको सहयोगमा जग्गा खरिद गरी नगरपालिकाको ८० लाख रुपियाँ लागतमा निर्माण गरिएको वडा कार्यालय भवन असोज ११ गते आएको बाढीले दरमखोलामा बगाएको छ।
दरमखोलामा आएको बाढीको कटानले वडा कार्यालय भवनलाई जगैदेखि बगाएर खोलामा पुर्याएको गलकोट नगरपालिका–९ का वडाध्यक्ष तेजबहादुर थापाले बताउनुभयो। उहाँका अनुसार वडा कार्यालयका कागजपत्रलगायत सामग्रीसमेत खोलामा बगेका छन्। स्थानीयवासीको श्रम, जनप्रतिनिधिको पहल र सरकारी लगानीमा निर्माण भएको भवन अहिले खोलाको बगरमा पल्टिएको छ।
“विसं २०७४ को स्थानीय तह निर्वाचनमा वडाध्यक्ष निर्वाचित भएपछि स्थानीयवासीसँगको सहकार्यमा वडा कार्यालय भवन निर्माणको पहल गरेको थिएँ। नगरपालिकाको ८० लाख रुपियाँ बजेट र स्थानीयवासीको सहयोगमा तीन रोपनी जग्गा खरिद गरी निर्माण गरिएको भवन वडाको प्रशासनिक केन्द्र मात्रै थिएन, स्थानीयवासीको साझा सम्पत्तिसमेत थियो,” थापाले भन्नुभयो, “यति ठुलो बाढी आउला भन्ने कल्पना गरेका थिएनौँ। वडा कार्यालय संरक्षणका लागि ग्याबिन जालीसमेत लगाइएको थियो। बाढीले आफ्नै नौ रोपनी खेतसमेत बगर बनाएको छ। अब वडा कार्यालय अस्थायी रूपमा सञ्चालनमा ल्याउँछौँ।”
दरमखोलाको निरन्तर कटानका कारण असोज ११ गते आइतबार साँझ करिब ४ बजे भवन जगैदेखि बगेर खोलामा पुगेको हो। भवनसँगै सरकारी लगानी, स्थानीयवासीको योगदान र वर्षौँको मेहनतसमेत खोलाको धारमा मिसिएको छ।
वडाध्यक्ष थापाका लागि भवन ढल्नु व्यक्तिगत क्षतिभन्दा पनि सामूहिक उपलब्धि गुम्नु हो। भवनलाई थप सुविधायुक्त बनाउन दोस्रो कार्यकालमा समेत उहाँले स्रोतसाधन जुटाउनुभएको थियो। भवनमा जडान गरिएको करिब १५ लाख रुपियाँको सौर्य ऊर्जा प्रणालीमा समेत क्षति पुगेको छ।
भवनमा नदी कटानको जोखिम बढ्दै गएपछि स्थानीयवासीले कम्प्युटर, ल्यापटपलगायत केही महत्त्वपूर्ण उपकरण र अभिलेख सुरक्षित स्थानमा सारेका थिए। उनीहरूको प्रयासले केही सरकारी सामग्री जोगिए पनि भवन, सोलार प्यानल तथा भवनसँग जोडिएका अन्य भौतिक संरचना भने जोगाउन सकिएन।
स्थानीय अमृता ढकालले खोलाले भवनको जग नै कमजोर हुने गरी कटान गरेपछि संरचना बगाउँदा आफ्नो घरसमेत जोखिममा परेको बताउनुभयो।
दरमखोलाको कटानले वडा कार्यालय भवन मात्रै बगाएको छैन। बाह्रमुखी, टिमुरबोटलगायतका फाँटमा पाक्नै लागेको धानसमेत बगाएपछि किसान मर्कामा परेका छन्। वडा कार्यालयनजिकै रहेको स्थानीय अमृता ढकालको घरसमेत जोखिममा परेको छ।
“वडा कार्यालयभन्दा तल पनि जमिन थियो। अहिले वडा कार्यालय बगाएपछि हाम्रो घरमा समेत जोखिम बढेको छ। राति सुत्न सकिँदैन,” ढकालले भन्नुभयो।
गलकोट नगरपालिकाले बाढीपहिरोबाट भएको क्षतिको यकिन विवरण सङ्कलन गरिरहेको जनाएको छ। प्रारम्भिक विवरणअनुसार नगर क्षेत्रभित्र २२ घरगोठमा क्षति पुगेको छ। रिसोर्टलगायत व्यावसायिक संरचनामा समेत क्षति पुगेको नगरपालिकाले जनाएको छ। दरमखोला रिसोर्टमा समेत क्षति पुगेको छ।
नगरप्रमुख भरत शर्मा गैरेले सरकारी तथा निजी क्षेत्रको करोडौँ रुपियाँ बराबरको भौतिक सम्पत्तिमा क्षति पुगेको बताउनुभयो। उहाँका अनुसार क्षतिको तथ्याङ्क सङ्कलन भइरहेको छ।
जन्मदर्ता, मृत्युदर्ता, नागरिकता सिफारिस, सामाजिक सुरक्षा भत्तालगायत प्रशासनिक कामका लागि वडावासीले केही समय सास्ती खेप्नुपर्ने देखिए पनि अस्थायी रूपमा वडा कार्यालय सञ्चालन गरी सेवा प्रवाह गर्ने तयारी नगरपालिकाले गरेको छ।
बाढीपहिरोबाट गलकोटसहित बागलुङका अधिकांश स्थानीय तह प्रभावित भएका छन्। जिल्लामा पहिरोमा परी १३ जनाले ज्यान गुमाएका छन् भने ठूलो भौतिक क्षति भएको छ।