रौतहट, असोज १६ गते ।
वर्षौँदेखि जीर्ण छानामुनि बस्दै आएका रौतहटको चन्द्रपुर नगरपालिका–१ मङ्गलपुरस्थित सुकुम्बासी बस्ती (नयाँबस्ती) का बासिन्दा घरमा नयाँ जस्तापाता लाग्न थालेपछि खुसी भएका छन् ।
२०५० सालको बाढीबाट विस्थापित जिल्लाका बाढीपीडित परिवारलाई पुनर्वासका लागि ताइवान सरकारको सहयोगमा निर्माण गरिएको उक्त बस्तीका घरका छाना जीर्ण भएर वर्षायाममा पानी चुहिने समस्या थियो । चन्द्रपुर नगरपालिकाले जीर्ण छाना फेरेर नयाँ जस्तापाता लगाउन थालेपछि बस्तीका बासिन्दामा खुसी छाएको हो ।
स्थानीय मीना परियारले करिब ३३ वर्षअघि निर्माण गरिएका घरका जस्तापाता जीर्ण भएर वर्षायाममा पानी चुहिँदा खाद्यान्न, लत्ताकपडा तथा अन्य सामग्री भिज्ने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “वर्षायाममा घरभित्र पानी चुहिने भएकाले बस्न र सुत्नसमेत समस्या हुँदै आएको थियो । अहिले पालिकाले नयाँ जस्तापाता लगाउन थालेपछि बस्तीका नागरिक खुसी भएका छन् ।”
करिब तीन सय घरधुरी रहेको उक्त बस्तीमा नगरपालिकाले पहिलो चरणमा ५० घरको जीर्ण छाना फेरेर नयाँ जस्तापाता लगाउने काम सुरु गरेको छ । बस्तीका कतिपय परिवारले पक्की घरसमेत निर्माण गरिसकेकाले करिब एक सय ५० घरधुरीमा नयाँ जस्तापाता लगाएपछि समस्या समाधान हुने नगर प्रमुख सञ्जयकुमार काफ्लेले जानकारी दिनुभयो ।
“सुरक्षित आवास नागरिकको आधारभूत आवश्यकता भएकाले जीर्ण छानाका कारण वर्षायाममा समस्या भोग्दै आएका परिवारलाई लक्षित गरी छाना फेर्न लागिएको हो,” उहाँले भन्नुभयो, “गाँस, बास र कपास नागरिकका आधारभूत आवश्यकता हुन् । स्थानीय सरकार नागरिकलाई सुरक्षित आवासको अनुभूति गराउनेतर्फ केन्द्रित छ ।”
चन्द्रपुर नगरपालिका–१ का वडाध्यक्ष बलराम राउतका अनुसार बस्तीमा रहेका पुराना छाना जीर्ण भएकाले पहिलो चरणमा ५० घरधुरीको छाना फेर्न लागिएको हो । आवश्यकता र स्रोतको उपलब्धताका आधारमा अन्य जीर्ण घरका छानासमेत क्रमशः फेर्ने योजना रहेको उहाँले बताउनुभयो ।
लामो समयदेखि चुहिने छानामुनि बस्दै आएका विपन्न परिवारका लागि नयाँ जस्तापाता सामान्य भौतिक सुधार मात्र नभई वर्षायाममा सुरक्षित रूपमा बस्न पाउने ठुलो आधार बनेको बस्तीका ज्येष्ठ नागरिक जयनन्दन रायको भनाइ छ ।