घोराही, असोज १६ गते ।
बाढीले क्षति पुर्याएको घोराही–तुलसीपुर सडकखण्डअन्तर्गतको ग्वारखोला पुल मर्मत गर्न थालिएको छ। असोज ९ गते वर्षासँगै आएको बाढीका कारण पुलको पूर्वी भागमा क्षति पुगेपछि सवारीसाधन सञ्चालन बन्द गरिएको थियो।
नयाँ पुल निर्माणका लागि पुरानो पुलको स्ल्याबमुनि जग खन्ने क्रममा अविरल वर्षा र खोलामा आएको बाढीका कारण पहिले फिलिङ गरिएको माटो भासिएपछि पुल जोखिममा परेको हो। जोखिम बढेपछि पुलमाथिबाट सवारीसाधन सञ्चालन रोक्दै मर्मतको काम अघि बढाइएको पुल सेक्टर कार्यालय, नेपालगञ्ज, बाँकेका इन्जिनियर सुरेश चौधरीले जानकारी दिनुभयो।
पुलको पूर्वी छेउको भाग भासिएपछि सम्भावित जोखिमलाई ध्यानमा राखेर तत्कालका लागि सवारीसाधन सञ्चालन बन्द गरी मर्मत थालिएको इन्जिनियर चौधरीले बताउनुभयो। उहाँका अनुसार भासिएको स्थानमा पर्खाल निर्माणसँगै माटो र ढुङ्गा फिलिङ गर्ने काम भइरहेको छ।
“मर्मतको काम भइरहेको छ। अबको एक–दुई दिनमै एकतर्फी रूपमा सवारीसाधन सञ्चालन गर्न सकिने अवस्था हुन्छ,” उहाँले भन्नुभयो।
इन्जिनियर चौधरीका अनुसार नयाँ पुल निर्माणका लागि पुरानो पुलको स्ल्याबमुनि खनेपछि पहिले भरिएको माटो अविरल वर्षाका कारण भासिएको हो। उहाँका अनुसार पुरानो पुलको मुख्य संरचनामा भने क्षति पुगेको छैन।
पुलमा क्षति पुगेपछि सवारीसाधन सञ्चालनका लागि खोलामा अस्थायी डाइभर्सन निर्माण गरिएको छ। डाइभर्सन निर्माण गरिए पनि अधिकांश सवारीसाधन बिजौरी–राप्ती बबई क्याम्पस–गुम्राह चोक हुँदै वैकल्पिक सडकबाट सञ्चालन भइरहेका छन्।
घोराही–तुलसीपुर चारलेन सडकअन्तर्गत ग्वारखोलामा नयाँ पुल निर्माणको कामसमेत भइरहेको छ।