वीरगन्ज (पर्सा), असोज १६ गते ।
वीरगन्ज नाका भएर रासायनिक मलको ठुलो परिमाण भित्रिएसँगै वीरगन्जमा रहेका कृषि सामग्री कम्पनीका सबै गोदाम भरिएका छन् । भारतबाट जिटुजी प्रक्रियामार्फत ठुलो परिमाणमा युरिया र डिएपी मल धमाधम भित्रिन थालेपछि कृषि सामग्री कम्पनीका १२ वटा र भाडामा लिइएका थप आठ वटा गरी २० वटै गोदाम भरिएका हुन् ।
कृषि सामग्री कम्पनीको प्रादेशिक कार्यालय वीरगन्जका निमित्त प्रमुख दिनेश शर्माका अनुसार कम्पनीको वीरगन्जस्थित आफ्नै कार्यालय परिसरका छ वटा गोदाम, भुटनदेवीस्थित छ वटा गोदाम र साल्ट ट्रेडिङका दुई गोदाम भाडामा लिएर मल भण्डारण हुँदै आएको छ । एकै पटक ठुलो परिमाणमा मल आएपछि परवानीपुरमा टेरा मोर्टसका पाँच वटा र ओम्नीको एउटा गरी छ वटा थप गोदाम भाडामा लिई मल भण्डारण गरिएको छ ।
निमित्त प्रमुख दिनेश शर्माले भन्नुभयो, “हाम्रा सबै गोदाम भरिइसकेका छन् । वीरगन्ज नाका भएर भित्रिई भन्सारमा रहेको र आउँदै गरेको थप मल भण्डारणका लागि १० हजारदेखि १५ हजार टन क्षमताका गोदाम खोज्दै छौँ ।”
कृषि सामग्री कम्पनीको प्रादेशिक कार्यालय वीरगन्जमा रहेका २५ हजार एक सय मेट्रिक टन क्षमताका १२ गोदाममा अहिले २२ हजार ३१६.१४ मेट्रिक टन रासायनिक मल भण्डारण गरिएको छ । भाडामा लिइएका १० हजार मेट्रिक टन क्षमताका आठ गोदाममा ११ हजार ५४७ मेट्रिक टन भण्डारण गरिएको छ । कुल ३५ हजार एक सय मेट्रिक टन क्षमताका गोदाममा ३३ हजार ८६३.५० मेट्रिक टन भण्डारण गरिएको निमित्त प्रमुख शर्माले जानकारी दिनुभयो ।
अझै पनि साढे सात हजार मेट्रिक टन युरिया र एक हजार सात सय मेट्रिक टन डिएपी वीरगन्ज भन्सारमा रहेको छ । उक्त मल र आउँदै गरेको थप मल भण्डारणका करिब १० हजारदेखि १५ हजार मेट्रिक टन क्षमताका गोदाम भाडामा लिने तयारीमा कृषि सामग्री कम्पनीको प्रादेशिक कार्यालय वीरगन्ज लागेको छ ।
हाल वीरगन्जका गोदाममा रहेको ३३ हजार ८६३.५० मेट्रिक टनमध्ये आगामी हिउँदे बालीका लागि वितरण गर्न १५ हजार सात सय मेट्रिक टन युरिया, आठ हजार ९.६४ मेट्रिक टन डिएपी र तीन हजार ४७१ मेट्रिक टन पोटास मौज्दात छ । त्यस्तै बफर स्टकको करिब पाँच हजार ७६९ मेट्रिक टन रासायनिक मल रहेको छ ।
ग्लोबल टेन्डरबाट खरिद गरिएको थप ३० हजार मेट्रिक टन युरिया र ३० हजार मेट्रिक टन डिएपी भित्रिने क्रममा रहेकाले पर्याप्त भण्डारण पूर्वाधारको अभावमा मल व्यवस्थापनको चुनौती अझ बढ्ने देखिएको छ ।
सरकारले जिटुजी प्रक्रियामार्फत भारतबाट खरिद गरेको ३० हजार मेट्रिक टन युरियामध्ये वीरगन्ज प्रादेशिक कार्यालयका लागि छुट्याइएको ११ हजार पाँच सय मेट्रिक टन आइसकेको छ । बाँकी युरिया भैरहवा र विराटनगर प्रादेशिक कार्यालयका लागि छुट्याइएको हुन्छ । भैरहवा कार्यालयका लागि छुट्याइएको मलसमेत वीरगन्ज नाकाबाटै भित्रिरहेको छ ।
त्यस्तै खरिद गरिएको २० हजार मेट्रिक टन डिएपीमध्ये हालसम्म चार हजार ९७७ मेट्रिक टन वीरगन्जमा भण्डारण भइसकेको छ । उक्त डिएपीमध्ये सात हजार छ सय मेट्रिक टन वीरगन्ज प्रादेशिक कार्यालयका लागि हो भने बाँकी डिएपी भैरहवा र विराटनगर प्रादेशिक कार्यालयका लागि हो ।
विशेष गरी गहुँ र तेलहन बालीका लागि मल आवश्यक पर्ने बताउँदै निमित्त प्रमुख शर्माले धानबालीका लागि भने अहिले युरिया र डिएपीको माग नरहेको जानकारी दिनुभयो ।