ढल्केबर, असोज १३ गते ।
निर्वाचन आयोगले पदमुक्त गरेका धनुषाका चार वडाध्यक्षलाई यथास्थितिमा रहेर कामकाज गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । आदेशसँगै उनीहरूलाई वडाध्यक्षको जिम्मेवारीमा रहेर काम गर्न बाटो खुलेको हो ।
सर्वोच्चको आदेशपछि मिथिला नगरपालिका–२ का बिहारी महतो, शहीदनगर नगरपालिका–८ का तनुकलाल कुसियैत, विदेह नगरपालिका–६ का जयराम मण्डल र कमला नगरपालिका–५ का शिवा पासवानलाई वडाध्यक्षको जिम्मेवारीमा रहेर कामकाज गर्न बाटो खुलेको छ ।
सर्वोच्च अदालतले जारी गरेको आदेशमा निवेदकहरूले दल त्याग गरेको वा अन्य दलमा प्रवेश गरेको भन्ने तथ्ययुक्त तथा मनासिब आधार तत्काल नदेखिएको उल्लेख छ । अदालतले निर्वाचन आयोग, महान्यायाधिवक्ताको कार्यालय तथा अन्य विपक्षीलाई कानुनबमोजिम प्रतिनिधिमार्फत लिखित जवाफ पेस गर्नसमेत आदेश दिएको छ ।
निर्वाचन आयोगले गत भदौ ३१ गते सूचना प्रकाशित गर्दै ती वडाध्यक्षहरूको पद रिक्त भएको जनाएको थियो । आयोगले राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३२ (१) तथा राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को नियम २२ बमोजिम सम्बन्धित दलको केन्द्रीय समितिले उनीहरू अन्य दलमा प्रवेश गरेको जानकारी गराएपछि पद स्वतः रिक्त भएको निर्णय गरेको थियो ।
आयोगका अनुसार तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाट २०७९ सालको स्थानीय तह निर्वाचनमा निर्वाचित ती जनप्रतिनिधि अन्य दलमा प्रवेश गरेको भन्दै सम्बन्धित दलको केन्द्रीय समितिको निर्णयसहित आयोगमा जानकारी प्राप्त भएको थियो । सोही आधारमा आयोगले उनीहरूको पद रिक्त हुने निर्णय गर्दै सार्वजनिक सूचना जारी गरेको थियो ।