सुलीकोट (गोरखा), असोज १३ गते ।
लगातारको वर्षाका कारण केही दिनदेखि रोकिएको मनास्लु संरक्षण क्षेत्रअन्तर्गतको मनास्लु पदयात्रा पुनः सञ्चालनमा आएको छ । मौसममा सुधार आएपछि मनास्लु संरक्षण क्षेत्र (एमक्याप) ले असोज १३ गतेदेखि प्रवेश अनुमति पत्र नियमित रूपमा जारी गर्ने व्यवस्था पुनः सञ्चालनमा ल्याएको हो ।
जल तथा मौसम विज्ञान विभागले असोज ९ देखि ११ गतेसम्म विभिन्न जिल्लामा भारी वर्षा हुने पूर्वानुमान जारी भएपछि मनास्लु संरक्षण क्षेत्रमा वर्षाजन्य विपद्को जोखिमलाई मध्यनजर गर्दै असोज ८ देखि १२ गतेसम्म प्रवेश अनुमति पत्र जारी नगर्न सम्बन्धित निकायलाई आग्रह गरिएको थियो ।
हाल मौसम तथा वातावरणीय अवस्थामा क्रमशः सुधार आएपछि मनास्लु संरक्षण क्षेत्र आयोजनाले नियमित रूपमा प्रवेश अनुमति पत्र जारी गर्ने व्यवस्था पुनः सञ्चालन गरेको एमक्यापका सूचना अधिकारी भुवन ओझाले बताउनुभयो ।
यद्यपि, पदमार्गका केही स्थानमा अझै पहिरो तथा ढुङ्गा खस्ने जोखिम रहेकाले पर्यटक, पदयात्री, स्थानीय समुदाय, पर्यटन व्यवसायी, गाइड तथा पोर्टरलाई आवश्यक सावधानी र सतर्कता अपनाउन मनास्लु संरक्षण क्षेत्र कार्यालय गोरखाले सूचना जारी गरी आग्रह गरेको छ ।
जिल्ला प्रशासन कार्यालय गोरखाका अनुसार मौसममा सुधार आएपछि मात्र मनास्लु तथा लार्केपास पदमार्गमा आवश्यक सुरक्षा सतर्कता अपनाएर यात्रा गर्न सकिने जनाएको छ । गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले विपद्जन्य घटना वा असामान्य अवस्था सिर्जना भए तत्काल सम्बन्धित सुरक्षा निकायलाई जानकारी गराउन आग्रह गर्नुभएको छ ।
मनास्लु क्षेत्रमा पदयात्रा गर्दा स्थानीय अवस्था तथा मौसमसम्बन्धी जानकारीलाई प्राथमिकता दिन र सम्भावित जोखिमयुक्त स्थानमा विशेष सावधानी अपनाउन सम्बन्धित सबै पक्षलाई अनुरोध गरिएको छ । साथै, पदमार्गको अवस्था र सम्भावित जोखिमबारे स्थानीय तथा सम्बन्धित निकायसँग समन्वय गरेर मात्र यात्रा गर्न जिल्ला प्रशासन कार्यालय गोरखाले आग्रह गरेको छ ।