काठमाडौँ, असोज ३ गते ।
संयुक्त राष्ट्रसङ्घको ८१ औँ महासभामा प्रधानमन्त्री वालेन्द्र शाहको नेतृत्वमा नेपालले प्रतिनिधित्व जनाउने भएपछि विश्वभरका नेतृत्वको उच्च चासो बढेको छ । गोरखापत्र दैनिकसँगको कुराकानीमा परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्रीको आसन्न अमेरिका भ्रमणप्रति विश्वस्तरीय चासो उच्च रहेको बताउनुभयो ।
परराष्ट्रमन्त्री खनालले महासभामा प्रधानमन्त्रीले प्रस्तुत गर्नुहुने विषयवस्तु बलियो हुनुपर्नेमा मन्त्रालयले ध्यान केन्द्रित गरेको बताउनुभयो । उहाँका अनुसार प्रधानमन्त्री शाहको सम्बोधन, नेपालले प्रस्तुत गर्ने जलवायु न्यायको प्रस्तावमा हुनुपर्ने भाषा, प्रमाण तथा अन्य प्रक्रिया तय गर्न सूक्ष्म विश्लेषण गरिरहेको छ । उहाँले भन्नुभयो, “प्रधानमन्त्रीज्यूको संयुक्त राष्ट्रसङ्घमा हुने भ्रमणलाई लिएर संसारभरिबाट ठुलो उत्साह देखिएको छ, विश्वभरका समकक्षीहरूले समय हुँदा भेट्ने भनेर अनौपचारिक रुचि व्यक्त गरिरहनुभएको छ ।” नेपालमै पनि मित्रराष्ट्रका प्रतिनिधिहरूले प्रधानमन्त्री शाहसँग भेटको प्रयास गरिरहेको उहाँले बताउनुभयो ।
यसअघि दुई वर्षसम्म विदेश भ्रमण नगर्ने प्रधानमन्त्री शाहको घोषणा थियो । आइपरेको विपत्को अवस्था बुझेर प्रधानमन्त्री शाहले महासभामा सहभागिता जनाउने विषयलाई सकारात्मक रूपमा लिँदै कसरी अघि बढ्ने भनेर सबैको परामर्श लिनुभएको थियो ।
जलवायु न्यायमा जोड
परराष्ट्रमन्त्री खनालका अनुसार महासभामा प्रधानमन्त्री शाहको बलियो उपस्थिति बनाउने ध्येय परराष्ट्र मन्त्रालयको रहेको छ । भ्रमणलाई दर्बिलो बनाउन सरकारका सबै मन्त्रालय र निकायको साथ खोजिएको छ ।
परराष्ट्र मन्त्रालयले विज्ञसँग छलफल, जलवायु कूटनीतिलाई स्थायित्वको पहल, जलवायु न्यायका लागि आवश्यक प्रमाण तथा दस्ताबेज सङ्कलनका लागि पहल गरिरहेको छ । प्रधानमन्त्री शाह छोटो समयका लागि महासभामा सरिक हुनुहुने छ ।
गुटेर्रेससँग भेट हुने
महासभाको कार्यसूची अनुसार सेप्टेम्बर २२ देखि एक हप्तासम्म उच्चस्तरीय छलफल चल्ने छ । परराष्ट्रमन्त्री खनालले थप्नुभयो, “मूल रूपमा विपत्को परिस्थितिमा लामो समय देश छोडेर नबस्ने तर यही विपत्को परिस्थितिले ल्याएको विषयलाई संयुक्त राष्ट्रसङ्घको मञ्चबाट अन्तर्राष्ट्रियकरण गर्ने रणनीति अपनाइएको हो ।” उहाँका अनुसार जलवायु परिवर्तनले नेपालमा पारेको असर जलवायु न्यायको विषयलाई स्पष्ट ढङ्गले अन्तर्राष्ट्रियकरण गर्ने हिसाबले प्रधानमन्त्री शाहको सहभागितालाई संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले पनि महत्वका साथ लिनुभएको छ ।
परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री शाहले राष्ट्रसङ्घको महासभालाई २४ सेप्टेम्बर अर्थात् असोज ८ गते सम्बोधन गर्नुहुने कार्यसूची छ । नयाँ कार्यसूची अनुसार प्रधानमन्त्री शाहसँग राष्ट्रसङ्घका महासचिव गुटेर्रेसको भेटवार्ता हुने तय भएको छ । प्रधानमन्त्री शाहसँग विदेशका धेरै उच्च नेतृत्वले भेट गर्न चाहे पनि छोटो अवधिका कारण द्विपक्षीय भेट कम हुने भएको छ । तर केही थप भेट हुन सक्ने सम्भावना कायमै रहेको मन्त्रालयले जनाएको छ ।
प्रधानमन्त्री शाह सेप्टेम्बर २२ मा नेपालबाट प्रस्थान गर्दै सेप्टेम्बर २३ तारिखमा न्युयोर्क पुग्नुहुने छ । भोलिपल्ट सेप्टेम्बर २४ तारिखमा सम्बोधन गरेर सेप्टेम्बर २६ तारिख अर्थात् असोज १० गते फर्कनुहुने कार्यसूची छ । महासभामा सहभागिता जनाउन परराष्ट्रमन्त्री खनाल सेप्टेम्बर २० तारिख अर्थात् असोज ४ गते नै राष्ट्रसङ्घको मुख्यालय न्युयोर्क पुग्नुहुने छ ।
उहाँले भन्नुभयो, “हामी सबै सदस्य राष्ट्र भएको फोरम भएको कारणले गर्दा त्यहाँ आफ्ना आवाज र आवश्यकतालाई स्पष्ट ढङ्गले पुर्याउने हो, त्यसमा प्रधानमन्त्री शाहको उपस्थिति नै हाम्रा लागि ठुलो रहने छ ।”
परराष्ट्र मन्त्रालयका अनुसार अन्य थुप्रै साइडलाइन तथा उच्चस्तरीय बैठक तथा द्विपक्षीय भेटवार्तामा मन्त्री खनाल सक्रिय रहनुहुने छ । नेपालले राष्ट्रसङ्घमा अतिकम विकसित मुलुकको नेतृत्व गरिरहेको छ । त्यसैले केही कार्यक्रमको नेतृत्व गर्ने छ । नेपाल आफैँले ‘फ्रम सगरमाथा टु सी’ शीर्षकमा छुट्टै कार्यक्रम गर्दै छ । राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले आयोजना गर्नुहुने उच्चस्तरीय सत्रमा नेपालको बलियो सहभागिता हुने परराष्ट्र सचिव अमृतबहादुर राईले जानकारी दिनुभयो ।
संयुक्त राष्ट्रसङ्घको महासभालाई नेपालले विश्वको बलियो साथ बटुल्ने अवसरका रूपमा लिएको छ । महासभामा नेपालको संलग्नता र विपत्को परिस्थितिमा नेपालले जलवायु परिवर्तन र यसबाट निम्तिएको सङ्कटको विषय उठानसँगै भविष्यको साथ खोज्ने छ । जलवायु न्यायको कुरामा खरो ढङ्गले प्रस्तुत हुने मुख्य उद्देश्यमा सरकार केन्द्रित छ । परराष्ट्रमन्त्री खनालले भन्नुभयो, “हामीले यतिबेला भोगेको पीडालाई विश्व समुदायसम्म पुर्याउन महासभा एउटा सशक्त मञ्च हो भन्ने हाम्रो बुझाइ हो, त्यसैको तयारीमा छौँ ।”
मन्त्रालयका अनुसार प्रधानमन्त्री शाह, परराष्ट्रमन्त्री खनाल, प्रधानमन्त्री शाहका प्रमुख सल्लाहकार कुमार व्यञ्जनकार, परराष्ट्र सचिव राई र नेपाल सरकारका अन्य वरिष्ठ अधिकारी नेपालको प्रतिनिधिमण्डलमा सहभागी हुनुहुने छ ।