काठमाडौँ, असोज ३ गते ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज भारतीय उद्योगपतिहरूसँग छलफल गर्दै नेपालमा नयाँ लगानी गर्न आह्वान गर्नुहुनेछ ।
अर्थमन्त्रीको भारत भ्रमणका अवसरमा भारतीय उद्योग परिसङ्घ (सीआईआई) ले आयोजना गरेको उद्योगीहरूसँगको ‘राउन्ड टेबल’ छलफललाई शनिबार बिहान ९ः३० बजे नयाँदिल्लीस्थित सीआईआई मुख्यालयमा अर्थमन्त्री वाग्लेले सम्बोधन गर्ने कार्यक्रम छ ।
परिसङ्घकी अध्यक्ष डा. सुचित्रा के. इलाको अध्यक्षतामा हुने उक्त कार्यक्रममा प्रमुख अतिथिका रूपमा अर्थमन्त्री डा। वाग्ले सहभागी हुनुहुनेछ ।
सो क्रममा उहाँले भारतीय उद्योगपतिहरूलाई नेपालमा नयाँ लगानी गर्न तथा नेपालमा लगानी गरिसकेका उद्योगीहरूलाई लगानी विस्तार गर्न आह्वान गर्नुहुनेछ ।
साथै, लगानीमैत्री कानुनी स्थिरता, लगानी सुरक्षा र प्रतिफलको सुनिश्चितताका सन्दर्भमा नेपाल सरकारको धारणा उहाँले भारतीय उद्योगपतिहरूसमक्ष स्पष्ट पार्नुहुनेछ ।
अर्थमन्त्री वाग्लेसँगको छलफलमा परिसङ्घका पूर्वअध्यक्ष एवं आईटीसी इन्डियाका अध्यक्ष सञ्जीव पुरीसहित करिब दुई दर्जन उद्योगपति सहभागी हुने परिसङ्घले जनाएको छ ।