मकवानपुर, असोज ३ गते ।
बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले समावेशी विकास र समृद्ध प्रदेश निर्माणमा प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । मुख्यमन्त्री थापा मगरले ११औँ संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा शनिबार शुभकामना सन्देश जारी गर्दै प्रदेश सरकार सुशासन, उत्तरदायी सेवा प्रवाह, सामाजिक न्याय, समावेशी विकास र समृद्ध प्रदेश निर्माणका लागि प्रतिबद्ध रहेको बताउनुभएको हो ।
उहाँले लोकतन्त्र, गणतन्त्र र सामाजिक न्यायका लागि बलिदान दिने सम्पूर्ण ज्ञात–अज्ञात सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै संविधानले नागरिक स्वतन्त्रता, मौलिक हक, विधिको शासन र विविधताबीचको एकतालाई राज्य सञ्चालनको मुख्य आधार बनाएको शुभकामना सन्देशमा उल्लेख गर्नुभएको छ ।
संविधानले प्रदान गरेका अधिकार नागरिकको दैनिक जीवनमा अनुभूत हुने गरी कार्यान्वयन गर्नु तीनै तहका सरकार, राजनीतिक दल र सम्पूर्ण नागरिकको साझा जिम्मेवारी भएको उहाँको भनाइ छ ।
बागमती प्रदेश सरकार संविधानको भावना र मर्मअनुसार काम गर्न प्रतिबद्ध रहेको उहाँले बताउनुभएको छ ।
मुख्यमन्त्री थापा मगरले हालैको बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकहरूप्रति गहिरो सहानुभूति प्रकट गर्दै उद्धार, राहत, पुनःस्थापना र पुनर्निर्माणमा प्रदेश सरकार पूर्ण जिम्मेवारीका साथ क्रियाशील रहने विश्वास दिलाउनुभएको छ ।
संविधान दिवसले राष्ट्रिय एकता, आपसी सद्भाव र सहकार्यलाई थप सुदृढ बनाउँदै न्यायपूर्ण र समृद्ध नेपाल निर्माणका लागि सबैलाई प्रेरणा प्रदान गर्ने अपेक्षा मुख्यमन्त्री थापा मगरले व्यक्त गर्नुभएको छ ।