घोराही, भदौ २९ गते ।
चाडपर्वको समयमा केराले राम्रो मूल्य पाउँदा दाङका केरा उत्पादक किसान उत्साहित बनेका छन् । गत वर्ष केराले मूल्य नपाउँदा निराश बनेका किसान यस वर्ष भने उत्साहित बनेका हुन् ।
राप्ती गाउँपालिका–७, सिसहनिया निवासी रणप्रसाद सुवेदीले कृष्ण जन्माष्टमीदेखि हालसम्म नौ लाख रुपियाँको केरा बिक्री गरेको बताउनुभयो । सिसहनियालगायत देउखुरी क्षेत्रमा ३५ बिघा क्षेत्रफलमा व्यावसायिक केरा खेती गर्दै आउनुभएका सुवेदीले एक महिनामा नौ लाख रुपियाँ बराबरको केरा बेचेको बताउनुभयो ।
जन्माष्टमीको बेला मात्रै पाँच लाख रुपियाँको केरा बेचेका सुवेदीले तीजको अवसरमा हालसम्म करिब चार लाख रुपियाँ बराबरको मालभोग केरा बेचेको बताउनुभयो । उहाँका अनुसार गएको फागुनमा आएको हावाहुरीका कारण १२ हजार बोट ढल्दा उत्पादनमा कमी आएको छ ।
राप्ती केरा प्रवर्धन समूहका अध्यक्षसमेत रहनुभएका सुवेदीका अनुसार गत वर्षको तुलनामा यस वर्ष केरा उत्पादक किसानले केराको राम्रो मूल्य पाएका छन् । बाहिरबाट केरा आयातमा कमी हुँदा जिल्लामा उत्पादन भएको केराले मूल्य पाएको जनाउँदै किसान सुवेदीले भन्नुभयो, “गत वर्ष केराले मूल्य नपाउँदा बारीमै केरा सड्ने अवस्था थियो । यो वर्ष त्यो अवस्था हटेको छ ।” उहाँका अनुसार चाडपर्वको समयमा बाहिरबाट केरा भित्रिन नपाउँदा स्थानीय केरा उत्पादक किसानले राम्रो मूल्य पाएका छन् ।
सिसहनियाकै अर्का किसान विद्याबहादुर चौधरीले यस वर्ष करिब तीन लाख रुपियाँ मूल्यको केरा बेचेको बताउनुभयो । गत वर्ष केराको मूल्य घट्दा बिक्रीमै समस्या बेहोर्नुभएका चौधरीले यो बिक्रीमा समस्या नभएको बताउनुभयो । बारीबाटै यो वर्ष दर्जनको एक सय रुपियाँका दरले केरा बिक्री भइरहेको भन्दै चौधरीले गत वर्ष ७० रुपियाँमा दिँदा पनि नबिक्ने समस्या रहेको सम्झाउनुभयो ।
मन्जुला बहुद्देश्यीय कृषि फार्म दर्ता गरेर सात वर्षदेखि व्यावसायिक केराखेतीमा लाग्नुभएका चौधरीले फार्मबाट उत्पादित केरा लमही, भालुवाङ, सिसहनियालगायत बजारबाट किसान आएर लैजाने गरेको बताउनुभयो । उहाँले सात बिगाह जग्गामा व्यावसायिक केरा खेती गर्नुभएको छ । कृषि ज्ञान केन्द्र दाङका अनुसार जिल्लामा ४४७ हेक्टर क्षेत्रफलमा मालभोग, हरिसाललगायत जातका केरा खेती हुने गरेको छ, जसबाट वार्षिक नौ हजार ९७३ मेट्रिक टन केरा उत्पादन हुने गरेको छ ।