काठमाडौं भदौ ११ गते।
रसुवास्थित भोटेकोशीमा बुधबार बिहान आएको भीषण बाढीबाट प्रभावित नागरिकहरूको जीवनरक्षा तथा उपचारका लागि आवश्यक रगतको व्यवस्था गर्न नेपाल तरुण दल केन्द्रीय कार्यालयले “बृहत् रक्तदान कार्यक्रम” आयोजना गर्ने भएको छ।
बाढीबाट प्रभावित नागरिकहरूको उद्धार तथा उपचारका क्रममा रगतको आवश्यकता पर्न सक्ने अवस्थालाई मध्यनजर गर्दै तरुण दलले रक्तदानमा सहभागी भई मानवीय सेवामा योगदान गर्न सबैमा अपिल गरेको छ।
नेपाल तरुण दल केन्द्रीय कार्यालयका अनुसार कार्यक्रम २०८३ भदौ ११ गते बिहान १०:३० बजे त्रिचन्द्र क्याम्पस प्राङ्गणमा आयोजना हुनेछ। कार्यक्रममा सहभागी भई रक्तदान गर्न इच्छुक पार्टीका नेता , कार्यकर्ता, नागरिक, युवा तथा सामाजिक अभियन्ताहरूलाई उपस्थित हुन आयोजकले आग्रह गरेको छ।
बाढी तथा प्राकृतिक विपद्का समयमा घाइते र प्रभावित नागरिकको उपचारमा रगतको अभाव हुन नदिन सामूहिक रूपमा रक्तदान गर्नु महत्वपूर्ण हुने भन्दै तरुण दलले उक्त कार्यक्रमलाई मानवीय सेवाको अभियानका रूपमा अघि बढाएको जनाएको छ।
आयोजकले संकटको यस घडीमा “रक्तदान गरौँ, जीवन बचाऔँ” भन्ने भावनाका साथ कार्यक्रममा सहभागी भई प्रभावित नागरिकको जीवनरक्षामा सहयोग गर्न सबैलाई अपिल गरेको छ।