काठमाडौं , भदाै १० गते ।
रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको आकस्मिक बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्स्थापना कार्यमा सहयोग पुर्याउन बुढानीलकण्ठ नगरपालिकाले १५ लाख ७२ हजार रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ।
नगरपालिकाको २०८३ भदौ १० गते बसेको बैठकले नगरपालिकाका तथा मातहतका कार्यालयमा कार्यरत कर्मचारीबाट संकलित रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको हो।
विपद्को कठिन परिस्थितिमा बाढी प्रभावित नागरिकप्रति ऐक्यबद्धता, मानवीय संवेदना र सामाजिक उत्तरदायित्व व्यक्त गर्दै नगरपालिकाले राहत, उद्धार तथा पुनर्स्थापनाका कार्यमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।
त्यस्तै, प्रभावित क्षेत्रमा आवश्यक राहत तथा सहयोग उपलब्ध गराउन सम्बन्धित सरकारी निकाय, स्थानीय तह तथा सरोकारवाला संस्थासँग आवश्यक समन्वय र सहकार्य गर्ने निर्णयसमेत गरिएको छ।
विपद् प्रभावित क्षेत्रमा स्वास्थ्यसम्बन्धी थप सहयोग आवश्यक परेमा बुढानीलकण्ठ नगर अस्पतालको Rapid Response Medical Team (RRT) पूर्ण रूपमा परिचालन गर्ने निर्णय पनि नगरपालिकाले गरेको छ।
नगरपालिकाले भोटेकोशी बाढी तथा अन्य विपद्बाट प्रभावित नागरिकको शीघ्र उद्धार, राहत र पुनर्स्थापनाका लागि सबै पक्षलाई प्रभावकारी समन्वय तथा सहकार्यमा जुट्न आग्रह गरेको छ।
