काठमाडौं ,साउन ३१ गते ।
भाटभटेनीको भक्तपुर स्टोर भदौ १ गतेदेखि चौबीसै घण्टा खुल्ने भएको छ । भाटभटेनीले आफ्ना स्टोर्सहरुलाई अन्तर्राष्ट्रिय मोडलमा २४ सै घण्टा सञ्चालनको तयारी गरेको छ ।सोहीअनुसार पाइलट प्रोजेक्टका रुपमा भक्तपुरबाट सुरु गर्न लागिएको भाटभटेनीले जनाएको छ । भाटभटेनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले बुधबारदेखि परीक्षणको काम गरिएको बताउँदै भोलि भदौ १ गतेदेखि चौबीसै घण्टा खोल्ने निर्णय भएको बताउनु भयाे ।
“बुधबार रातिदेखि हामीले परीक्षण गर्यौँ,”उहाँले भन्नुभयाे “भोलिदेखि हामीले चौबीसै घण्टा खोल्ने योजना बनाएका हौँ ।” पाइलट प्रोजेक्टका रुपमा हेरेर अन्य स्टोर्सहरुलाई पनि त्यहीअनुसार अघि बढाउने भाटभटेनीले जनाएको छ । बुधबारदेखि नै परीक्षण गरिएको र सफल भएको बताउँदै गुरुङले भोलिदेखि औपचारिकरुपबाटै खुल्ने बताउनु भयाे । अहिलेसम्म बिहान साढे ७ बजेदेखि राति ९ बजेसम्म खुला रहँदै आएको भए पनि चौबीसै घण्टा खुला राख्दा ग्राहकलाई नै सहज हुने भाटभटेनीको विश्वास छ ।
राति काम गर्ने कर्मचारीले नियमित तलबभन्दा २५ प्रतिशत बढी रकम प्राप्त गर्नुका साथै राति चिया खाजाको व्यवस्था गरिएको स्टोरले जनाएकोछ । भाटभटेनी मुलुकको सबैभन्दा ठूलो चेन स्टोर हो । गतवर्ष जेनजी आन्दोलनअघिसम्म कम्तिमा पनि २८ वटा स्टोरबाट सेवा दिइरहेको भाटभटेनीका १२ बढी स्टोरमा आगजनी भएको थियो ।