हेटौँडा (मकवानपुर), साउन १९ गते ।
बागमती प्रदेशका नवनियुक्त मन्त्री शैलेन्द्रमान बज्राचार्यले पद तथा गोपनीयताको शपथ लिनुभएको छ।
प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले प्रदेश प्रमुखको कार्यालयमा मङ्गलबार आयोजित विशेष समारोहमा नवनियुक्त मन्त्री बज्राचार्यलाई शपथ ग्रहण गराउनुभएको हो।
मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको सिफारिसमा प्रदेश प्रमुख देवकोटाले बज्राचार्यलाई भौतिक पूर्वाधार विकास मन्त्रीमा मङ्गलबार नै नियुक्त गर्नुभएको थियो। उहाँ पुनर्गठित मन्त्रीपरिषद्मा हाम्रो नेपाली पार्टीका तर्फबाट मन्त्री बन्नुभएको हो। ११० सदस्यीय बागमती प्रदेशसभामा हाम्रो नेपाली पार्टीका दुई जना सदस्य हुनुहुन्छ।
प्रदेश प्रमुख देवकोटाले नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम मुख्यमन्त्री बानियाँको सिफारिसमा मन्त्रिपरिषद् पुनर्गठन तथा कार्यविभाजन गर्नुभएको हो। यसअघि भौतिक पूर्वाधार विकास मन्त्री बिनु रायमाझी पौडेलले मङ्गलबार नै पदबाट राजीनामा दिनुभएको थियो।
पुनर्गठित मन्त्रीपरिषद्मा शिवराज अधिकारीलाई आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालय, उर्मिला नेपाललाई कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्रालय र कञ्चनचन्द्र बादेलाई स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ। त्यसैगरी प्रभात तामाङलाई आर्थिक मामिला तथा योजना मन्त्रालय, सुरेश श्रेष्ठलाई उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालय र कृष्णकुमार तामाङलाई खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी तोकिएको छ।
नेकपा (एमाले) का मन्त्रीहरूले राजीनामा दिई सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री बानियाँले हाम्रो नेपाली पार्टीका बज्राचार्यलाई समेटेर मन्त्रिपरिषद् पुनर्गठन गर्नुभएको हो। बागमती प्रदेशमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित यसअघि १४ वटा मन्त्रालय रहेकामा साउन १ गतेदेखि घटाएर आठ वटा कायम गरिएको छ।
सपथ ग्रहण समारोहमा मुख्यमन्त्री बानियाँ, प्रदेशका मन्त्रीहरू, प्रदेश सचिवहरूलगायतको उपस्थिति रहेको थियो।