सिँजा (जुम्ला), साउन १७ गते ।
जुम्लाको पातारासी गाउँपालिका–७ स्थित पट्मारागाउँमा महिलाले सञ्चालन गरेको होमस्टे ग्रामीण पर्यटनको आकर्षक केन्द्र बन्दै गएको छ । स्थानीय संस्कृति, अर्गानिक खाना र प्राकृतिक सौन्दर्यको अनुभव लिन स्वदेशी तथा विदेशी पर्यटक यहाँ पुग्ने गरेका छन् । झन्डै १८० घरधुरी रहेको गाउँमा हाल नौ घरमा होमस्टे सञ्चालन भइरहेको छ ।
२०७८ सालमा हातेमालो नामक संस्थाको सहयोगमा सुरु गरिएको होमस्टे कार्यक्रम सुरुमा छ घरबाट सञ्चालन गरिएको थियो । पर्यटकको आकर्षण बढ्दै गएपछि अहिले नौ घरमा सेवा विस्तार गरिएको छ । स्थानीय राजकली रावतका अनुसार होमस्टेमा आउने पाहुनालाई गाउँमै उत्पादन गरिएका अर्गानिक परिकार खुवाइन्छ । फापर, जौ र गहुँको रोटी, मकैको ढिँडो, सिस्नोको तरकारीलगायत स्थानीय परिकार खुवाउने गरेको उहाँको भनाइ छ । यही अर्गानिक खानाको स्वाद लिन विदेशी पर्यटकसमेत आउने गरेका छन् । होमस्टेमा खानाको स्वाद मात्र होइन, स्थानीय संस्कृति र परम्परासँग पनि पर्यटकलाई परिचित गराइन्छ । स्थानीय जैकली थापाका अनुसार पाहुनाका लागि देउडा नृत्य प्रस्तुत गरिन्छ । साथै पुरानो पहिरन, परम्परागत रहनसहन र पोते तथा जाले (गलामा लगाउने) जस्ता गहना लगाएर स्थानीय संस्कृतिको झल्को दिइन्छ । मौलिक संस्कृति देखेर पर्यटक निकै खुसी हुने गरेका छन् । स्थानीय कलसी बुढाका अनुसार पट्मारागाउँ रारा जाने सडकको छेउमा तथा खाली पाटनको नजिक अवस्थित छ । चारैतिर हरियाली वनपाखाले घेरिएको गाउँ प्राकृतिक रूपमा अत्यन्त मनमोहक रहेको उहाँले बताउनुभयो ।
सहज सडक पहुँचका कारण यहाँ आउने पर्यटकको सङ्ख्या पनि बर्सेनि बढ्दै गएको छ । महिलाको सव्रिmयतामा सञ्चालन भइरहेको होमस्टेले गाउँमा रोजगारी सिर्जना गर्नुका साथै स्थानीय उत्पादन, संस्कृति र परम्पराको संरक्षणमा टेवा पु-याएको छ ।