डडेलधुरा, साउन १५ गते ।
सुदूरपश्चिम प्रदेशको डडेलधुरास्थित नवदुर्गा गाउँपालिका–४ को गिल्लागाउँमाथि एउटा रहस्यमय गुफा रहेको छ । जसले स्थानीयवासी मात्र नभएर त्यहाँ पुग्ने जोकोहीको जिज्ञासा बढाउने गरेको छ ।
सेती नदीको किनारमा फैलिएको विशाल र सुन्दर फाँटबिच अवस्थित गिल्लागाउँमाथिको डाँडामा रहेको यो गुफालाई स्थानीयले खार गुफा नाम दिएका छन् । यो प्राकृतिक रूपमा बनेको मानिन्छ । गुफाभित्र प्रवेश गर्दा ढुङ्गामा देवीदेवताका मूर्ति, जनावर तथा विभिन्न आकृति जस्ता प्राकृतिक आकार देखिने स्थानीय बताउँछन् । प्रकृतिले आफैँ कोरे जस्तै देखिने यी आकृतिले गुफालाई अझ रहस्यमय बनाएको छ ।
स्थानीय एवं स्वास्थ्यकर्मी गणेश विष्टका अनुसार केही वर्षअघि यस गुफाभन्दा करिब तीन किलोमिटरमाथि अर्को डाँडामा पनि गुफाको मुख रहेको थियो । त्यतिबेला तलको गुफामा आगो बाले माथिल्लो मुखबाट धुवाँ निस्किन्थ्यो भन्ने जनविश्वास छ । समयसँगै पहिरो, ढुङ्गा खस्ने वा अन्य प्राकृतिक कारणले त्यो मुख पुरिएको हुन सक्ने अनुमान स्थानीयले गरेका छन् । यद्यपि यसको आधिकारिक अध्ययन भने हालसम्म भएको छैन । यहाँ देखिने आकृति र चुन ढुङ्गाका आकारप्रकारले चुन खानी हुन सक्ने सम्भावना देखिन्छ ।
गुफाको वास्तविक लम्बाइ, यसको भौगोलिक संरचना, निर्माण प्रक्रिया तथा अर्कातर्फको मुखसँगको सम्बन्धबारे वैज्ञानिक अनुसन्धान हुन सकेको छैन । त्यसैले यस गुफासँग जोडिएका धेरै कथन अहिले पनि स्थानीय जनश्रुति र अनुभवमा आधारित छन् ।
यदि सम्बन्धित निकायले भूगर्भीय, पुरातात्त्विक तथा पर्यटनको दृष्टिले विस्तृत अध्ययन गर्न सके यो गुफा डडेलधुराको नयाँ पर्यटकीय गन्तव्य बन्न सक्ने सम्भावना देखिन्छ ।
गाउँपालिका उपाध्यक्ष निर्मला विष्ट बोगटीले भन्नुभयो, “प्राकृतिक रहस्य, स्थानीय लोककथा र मनोरम दृश्यको सङ्गम बनेको यो स्थानले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न सक्छ तर बिडम्बना २०८० सालमा गुफासम्म सडक निर्माणको योजना बनाई गाउँपालिकाबाट सडक निर्माण गर्दा स्थानीयबाटै अवरोध भई योजना अधुरै रह्यो ।”
गिल्लागाउँ डडेलधुरा–दिपायल जोड्ने डा. केआइसिंह राजमार्गको डडेलधुरा–डोटीको सिमाना कोरालखोलाबाट करिब आठ किमिको दुरीमा पर्छ । कोरालखोलाबाट नवदुर्गाको मम्यागाउँ हुँदै गिल्ला गाउँसम्म ग्रामीण कच्ची सडक निर्माण गरिएको छ तर खोलामा पुल नहुँदा बर्खायाममा कच्ची सडक भने अवरुद्ध हुने उहाँले जानकारी दिनुभयो ।