बैतडी, साउन १३ गते ।
बुवाको मृत्युपछि घरखर्च चलाउनसमेत धौधौ परेकी बैतडीकी सपना दमाईंको जेटिए बन्ने सपना अहिले साकार हुन थालेको छ । आर्थिक अभावकै कारण बिचमै पढाइ रोकिने अवस्थामा पुगेकी सपना जस्तै अन्य १६ जना गरिब तथा विपन्न विद्यार्थीको प्राविधिक शिक्षा पढ्ने खर्च अहिले एक जनप्रतिनिधिको व्यक्तिगत पहलले सम्भव भएको हो ।
दशरथ चन्द नगरपालिकाका उपप्रमुख कौशिला चन्दले आफूले पाउने मासिक सुविधा र बैठक भत्ताबापतको रकम गरिब विद्यार्थीको शिक्षामा लगानी गर्दै आउनुभएको छ । उहाँले ११ वटै वडाका १७ जना गरिब, विपन्न तथा दलित विद्यार्थीलाई नौ लाख ५० हजार रुपियाँ सहयोग गरेर प्राविधिक विषय पढाइरहनुभएको छ ।
सोमबार मात्रै उपप्रमुख चन्दले नगरपालिकाका ११ जना विद्यार्थीलाई आफ्नो सुविधाको पाँच लाख ५० हजार रुपियाँ छात्रवृत्तिस्वरूप वितरण गर्नुभएको छ ।
यस्तो रकम प्राप्त गर्नेमा यशोदा कोली, वीरेन्द्र चन्द, गोमती बडू, विपना भट्ट, मुकेश ओझा, डम्बरसिंह थापा, मुकेश थापा, विक्रम चुनारा, विनोद महर, हेमन्ती जोशी र लोकेन्द्रसिंह थापा रहनुभएको छ ।
उपप्रमुख चन्दले आफूले पाउने मासिक ४३ हजार रुपियाँ पारिश्रमिक र बैठक भत्ताबापत प्राप्त हुने सबै रकम जम्मा गरेर दलित, विपन्न र पिछडिएको क्षेत्रका विद्यार्थीलाई बाँड्ने गरेको बताउनुभयो । लामो समय (१६ वर्ष) शिक्षण पेसामा बिताएकी चन्द २०७९ को स्थानीय तह निर्वाचनमा दशरथ चन्द नगरपालिकाको उपप्रमुख पदमा विजयी हुनुभएको थियो ।
पदभार ग्रहण गरेकै पहिलो महिना उहाँले आफ्नो सरकारी सुविधाको रकम गरिब विद्यार्थीको पढाइमा खर्च गर्ने घोषणा गर्नुभएको थियो । उपप्रमुख चन्दले भन्नुभयो, “राजनीति विशुद्ध समाजसेवा हो । आर्थिक अभावका कारण पढ्न नपाएका विद्यार्थीका लागि आफ्नो सुविधाको रकम खर्च गर्न पाउँदा मलाई आत्मसन्तुष्टि र खुसी मिलेको छ ।” उपप्रमुख चन्दले आफ्नो घरायसी खर्च चलाउन दुई सयको सङ्ख्यामा बाख्रापालन गर्दै आउनुभएको छ ।
दशरथ चन्द नगरपालिका–९ मा ग्वाल्लेक एग्रो फार्ममा अहिले उन्नत जातका दुई सयभन्दा बढी बाख्रा छन् । बाख्रा फार्ममा अहिले चार जना युवाले रोजगारीसमेत पाएका छन् । गाउँको जमिन बाँझो छाडेर युवा पलायन हुन थालेपछि गाउँमै सम्भावना छ भन्ने उदाहरण दिन आफैँले बाख्रा फार्म सञ्चालन गरेको उपप्रमुख चन्दले बताउनुभयो ।