काठमाडौँ, साउन १२ गते ।
नेपाली काङ्ग्रेसका सभापति गगनकुमार थापाले पार्टीका वरिष्ठ नेता एवम् पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ।
सामाजिक सञ्जालमार्फत शोक सन्देश जारी गर्दै सभापति थापाले निष्ठावान्, अनुभवी र निडर नेता गुमाउनु नेपाली काङ्ग्रेस र सिङ्गो देशकै लागि अपूरणीय क्षति भएको उल्लेख गर्नुभएको छ।
“नेपालको लोकतान्त्रिक आन्दोलन, पार्टी सङ्गठन निर्माण र लोकतन्त्रको रक्षाका निम्ति उहाँको अविचलित भूमिका सधैँ प्रेरणादायी रहनेछ। स्याङ्जाबाट सुरु भएको उहाँको राजनीतिक यात्रा, पार्टीको कार्यवाहक सभापति, पूर्वउपप्रधानमन्त्री, शिक्षामन्त्री तथा केन्द्रीय सदस्यका रूपमा पार्टी र देशका लागि पुर्याउनुभएको योगदान अविस्मरणीय छ,” सभापति थापाले भन्नुभएको छ।
सभापति थापाले दिवङ्गत नेता श्रेष्ठको निष्ठा र समर्पणको बाटोमा आफूहरू निरन्तर हिँडिरहने प्रतिबद्धतासमेत व्यक्त गर्नुभएको छ। साथै शोकसन्तप्त परिवारजन, आफन्त र शुभेच्छुकप्रति गहिरो समवेदना प्रकट गर्नुभएको छ।
श्रेष्ठप्रति श्रद्धाञ्जलि अर्पणका लागि बुधबार बिहान ९ बजेदेखि ११ बजेसम्म उहाँको पार्थिव शरीर नेपाली काङ्ग्रेसको केन्द्रीय कार्यालय, सानेपामा राखिने सभापति थापाले जानकारी दिनुभएको छ।