बाजुरा, साउन ६ गते ।
साउन लागेसँगै बिरेखोला झरनामा आन्तरिक पर्यटकको घुइँचो लाग्ने थालेको छ । असारको रोपाइँ सकेर फुर्सदिला भएका यहाँका स्थानीय बिरेखोला झरनामा रमाउन पुग्न थालेका हुन् ।
बडीमालिका नगरपालिका–६ र ८ को बिचमा रहेको यो झरना बाजुरा सदरमुकाम मार्तडीदेखि करिब सात किलोमिटरको दुरीमा पर्छ । साँफे–मार्तडी सडकखण्ड अन्तर्गत पर्ने बिरेखोला सडकको करिब तीन सय मिटरको दुरीमा रहेको यो झरना आफैँमा निकै मनमोहक छ ।
प्राकृतिक सौन्दर्यले भरिपूर्ण यो झरनाको संरक्षण तथा प्रवर्धनमा सरकारको खासै ध्यान नदिएको बिरेखोलाका स्थानीय व्यापारी अने साउँदले बताउनुहुन्छ ।
उहाँले भन्नुहुन्छ, “जिल्ला सदरमुकाम मार्तडी जाने बिचबाटोमै पर्ने यो झरना साँफे–मार्तडी राजमार्गनजिक रहेकाले यहाँ आउने जोकोहीले पनि गाडी रोकेर फोटो खिच्ने र त्यसैमा रमाउने गर्छन् ।”
यसको माथिबाट बग्ने पानीको फोहोराले गर्मीयाममा निकै शीतलता प्रदान गर्छ । बर्खामासमा यहाँ आन्तरिक तथा बाह्य पर्यटकको निकै चहलपहल हुने गर्छ । बडीमालिका नगरपालिका–६ का वडाध्यक्ष कृष्णबहादुर खड्का यस स्थानलाई थप व्यवस्थित गर्न सकेमा यस क्षेत्रको आर्थिक विकासमा टेवा पुग्ने धारणा व्यक्त गर्नुहुन्छ ।
उहाँका अनुसार पालिकाको एक/दुई लाख रुपियाँको लगानीमा त्यहाँ जाने बाटोसम्म बनेको छ । रकम अभावकै कारण अहिले यसको खासै संरक्षण तथा प्रवर्धन गर्न नसकिएको वडाध्यक्ष खड्काको भनाइ छ ।