काठमाडौँ, जेठ १८ गते ।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टले वित्तीय समावेशीकरण र उद्यमशीलता विकासका माध्यमबाट गरिबीको समाधान गर्न सकिने बताउनुभएको छ । स्रोहौँ सामाजिक व्यवसाय दिवसका अवसरमा स्वावलम्बन विकास केन्द्रले आइतबार राजधानीमा आयोजित कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो । नोबेल शान्ति पुरस्कार विजेता प्राध्यापक मोहम्मद युनुसको ‘तीन शून्य’ (शून्य गरिबी, शून्य बेरोजगारी र शून्य खुद कार्बन उत्सर्जन) को अवधारणामा आधारित रहेर यो कार्यक्रम गरेको जनाइएको छ ।
कार्यक्रममा ग्रामीण ट्रस्ट, बङ्गलादेशका कार्यकारी उपाध्यक्ष अब्दुल हाई खानले युवा जागिर खोज्ने नभई जागिर सिर्जना गर्ने बन्नुपर्नेमा जोड दिनुभयो । उहाँले युवा स्वरोजगार प्रवर्धनका लागि ‘तीन–जिरो क्लब’ को अवधारणालाई प्राथमिकता दिनुपर्ने बताउनुभयो ।
कार्यक्रममा सहभागी विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीले नेपालमा तीन जिरो क्लबको अनुभव आदानप्रदान गर्नुका साथै वातावरण र जलवायु परिवर्तनका क्षेत्रमा भएका प्रयास र शून्य खुद कार्बन उत्सर्जन हासिल धारणा व्यक्त गर्नुभयो । कार्यक्रममा सरकारी निकाय, नेपाल राष्ट्र बैङ्क, लघुवित्त संस्था, सहकारी र गैरसरकारी संस्थाका करिब एक सय जना अधिकारीको सहभागिता थियो ।