काठमाडौँ, चैत ८ गते ।
नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को प्रिइभेन्ट अन्तर्गत ‘छोटो चलचित्र उत्सव’ आयोजना गरिएको छ । कार्यक्रममा निफका अघिल्ला संस्करणमा पुरस्कृत छोटा चलचित्रहरू ‘जुलुङ्गो’, ‘बेयर ट्री इन द मिस्ट’, ‘जुन्को’ र ‘चिसो घर’ देखाइएको थियो ।
कार्यक्रममा निफको तयारी अब अन्तिम चरणमा पुगेको अध्यक्ष केपी पाठकले बताउनुभयो । उहाँले भन्नुभयो, प्रिइभेन्ट पनि सफलतापूर्वक सम्पन्न भयो । अब चैत १९ गतेबाट सुरु हुने महोत्सवका लागि तयार छौँ ।
यस संस्करणमा पाँचदिने एआई चलचित्र कार्यशाला पनि समावेश गरिएको अध्यक्ष पाठकले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “प्रीप्रोडक्सन, प्रोडक्सन र पोस्ट प्रोडक्सनमा एआईको प्रयोग कसरी गर्ने भन्ने विषय उजागर गर्न पाँच दिने कार्यशाला आयोजना हुने छन् ।”
यस पटक निफले ‘निफ फिचर पिच’ शीर्षकको कार्यक्रम पनि समावेश गरेको छ । जहाँ छोटा चलचित्र बनाएको अनुभव भएका लेखकले आफ्नो टेलिचलचित्रको कथा निर्मातालाई सुनाउने अवसर पाउने छन् । अध्यक्ष पाठकका अनुसार, ‘छोटा चलचित्र बनाएर वा त्यसमा अब्बल साबित भएका विशेष गरी युवा चलचित्र निर्माता लाभान्वित हुन् भन्ने उद्देश्यले उक्त कार्यक्रम समावेश गरिएको हो ।’ निफमा ४० देशका ८८ चलचित्र प्रदर्शन हुने छन् ।