alliance khabar

आइतबार, पुष २०, २०८२

म्याग्दी, पुस २०  गते ।

मङ्गला गाउँपालिका–२ ताराखेतका बालबालिकाले देउसीभैलो खेलेर जुटाएको रकम परिचालन गरेर सडकबत्ती जडान गरेका छन् ।  ताराखेतमा पर्ने बेनी–दरवाङ सडक, पदमार्ग र मङ्गला गाउँपालिका–३ सातबिसेको सिमकुना जोड्ने झोलुङ्गे पुलमा शनिबारदेखि सडकबत्ती बालेर रातको समयमा उज्यालो बनाउन थालेका हुन् । तिहारमा देउसीभैलो खेलेर जुटाएको रु ३५ हजारसहित रु ७० हजारको लागतमा १५ वटा सडकबत्ती जडान गरेर ताराखेतलाई झिलीमिली बनाएको स्थानीय युवा अर्जुन पौडेलले बताउनुभयो ।

“देउसीभैलो खेलेर जुटाएको रकम बचाएर सामाजिक काममा लगाएका हौँ”, उहाँले भन्नुभयो, “स्थानीय अगुवा र अभिभावकहरूले पनि साथ दिएपछि ताराखेतलाई सुरक्षित बनाउनका लागि सडकबत्ती बाल्ने हाम्रो योजना सफल भएको हो ।”

सडकबत्तीका कारण रातको समयमा उज्यालो भएपछि दुर्घटना, चोरी, चितुवालगायत बन्यजन्तुको गतिविधि नियन्त्रणमा सहयोग पुग्नुका साथै स्थानीयवासीलाई हिँडडुल गर्न सहज भएको छ । सुरक्षित महसुस गर्न थालेका छन् ।

सडकबत्ती उपभोक्ता समितिका अध्यक्ष गोकर्ण पौडेलले उपभोक्ताबाट थप रु ३५ हजार जुटाएर योजना सम्पन्न गरिएको जानकारी दिँदै मासिक रूपमा रकम सङ्कलन गरेर सडकबत्तीको महसुल तिर्ने बताउनुभयो । सडकबत्तीको ताराखेतका बासिन्दा ९६ वर्षीया सन्तकुमारी भट्टचनले शनिबार उद्घाटन गर्नुभयो । स्थानीय विनोद भट्टचनले ताराखेतका युवायुवती र बालबालिकाले सानो तर रचनात्मक तथा सन्देशमूलक काम गरेका बताउनुभयो ।

अर्को चरणमा फोहर व्यवस्थापन र सरसफाइका लागि ताराखेतको सार्वजनिक स्थानमा फोहर सङ्कलन गर्ने तथा सिसीटिभी क्यामेरा जडान गर्ने योजना रहेको स्थानीय छमलाल पौडेलले बताउनुभयो । धवलागिरि, मालिका र मङ्गला गाउँपालिकालाई जिल्ला सदरमुकाम बेनीसँग जोड्ने बेनी–दरवाङ सडकमा पर्ने ताराखेतमा १७ घरपरिवारको बसोबास छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल