दाङ, असार ११ गते । दाङका दुई स्थानीय तहका उपाध्यक्षले परम्परागत ढकियामा बजेट पुस्तक बोकेर गाउँसभामा प्रवेश गरेपछि उपस्थित जनप्रतिनिधि र कर्मचारीको ध्यान उनीहरूतर्फ केन्द्रित भएको थियो।
राप्ती गाउँपालिकाकी उपाध्यक्ष कमलापति चौधरी र गढवा गाउँपालिकाकी उपाध्यक्ष शारदा कुमारी चौधरी स्थानीय मौलिक पहिरन तथा परम्परागत गहनामा सजिएर टाउकोमा थारु समुदायको पहिचान बोकेको ढकियामा बजेट पुस्तक राखी गाउँसभामा प्रवेश गर्नुभएको हो।
अघिल्ला वर्षहरूमा झोलामा रिबन बाँधेर बजेट पुस्तक ल्याउने चलन रहे पनि यस वर्ष उहाँहरूले फरक शैली अपनाउनुभएको हो। स्थानीय हस्तकला तथा मौलिक संस्कृतिको संरक्षण र प्रवर्द्धनमा टेवा पुगोस् भन्ने उद्देश्यले ढकियामा बजेट पुस्तक ल्याइएको राप्ती गाउँपालिकाकी उपाध्यक्ष कमलापति चौधरीले बताउनुभयो।
“ढकिया विशेष समारोहमा प्रयोग गरिने सामग्री हो,” उहाँले भन्नुभयो, “हामी दुई पालिकाका उपाध्यक्षबिचको सल्लाहअनुसार यसपटक ढकियामा बजेट पुस्तक ल्याएका हौँ। यसबाट स्थानीय हस्तकलाको प्रवर्द्धनमा समेत सहयोग पुग्ने विश्वास गरेका छौँ।”
उहाँले आर्थिक वर्ष २०८३/८४ का लागि राप्ती गाउँपालिकाको ७५ करोड ४ लाख ९६ हजार रुपियाँको बजेट प्रस्तुत गर्नुभएको बताउनुभयो। शिक्षा, स्वास्थ्य, पूर्वाधार, सिँचाइ तथा युवा उद्यमशीलता कार्यक्रमलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरिएको उहाँको भनाइ छ।
त्यसैगरी, गढवा गाउँपालिकाकी उपाध्यक्ष शारदा कुमारी चौधरीले आर्थिक वर्ष २०८३/८४ का लागि ८२ करोड ६४ लाख रुपियाँको बजेट प्रस्तुत गर्नुभएको छ। कृषि उत्पादनको भण्डारण, शीतभण्डार, पशुपालन, सिँचाइ तथा युवा उद्यमशीलता कार्यक्रमलाई प्राथमिकतामा राखेर बजेट ल्याइएको उहाँले बताउनुभयो।
परम्परागत ढकियामा बजेट पुस्तक बोकेर गाउँसभामा प्रवेश गर्ने शैलीले स्थानीय संस्कृति र हस्तकलाप्रति सम्मान व्यक्त गर्नुका साथै यसको प्रवर्द्धनमा समेत टेवा पुग्ने विश्वास गरिएको छ।