काठमाडौँ, असार २६ गते ।
त्रिविका नवनियुक्त उपकुलपति प्राडा दीपक अर्यालले विश्वविद्यालय सुधारका लागि आफूले आवश्यकता अनुसार चौबिसै घण्टा समय दिन तयार रहेको बताउनुभएको छ । प्रधानमन्त्री निवासमा पद तथा गोपनीयताको शपथ लिएपछि बुधबार नै पदभार ग्रहण गर्दै उपकुलपति अर्यालले यस्तो बताउनुभएको हो ।
अन्य पदाधिकारी तथा विभागीय प्रमुखहरूलाई साथैमा राखेर उपकुलपति अर्यालले विश्वविद्यालयको गरिमा उच्च राख्ने गरी काम गर्ने बताउनुभयो । पछिल्लो समय त्रिविमा फरक फरक समूहको फरक फरक माग रहेको र त्यसले विश्वविद्यालयलाई नै जटिल परस्थितिमा धकेलेको भन्ने भाष्य निर्माण भइरहेकोतर्फ आफू पनि सचेत रहेको बताउँदै उपकुलपति अर्यालले भन्नुभयो, “असन्तुष्ट पक्षलाई एक एक गरेर म आफैँ वार्ता गर्ने छु तर विश्वविद्यालय सुधारको काम भने एकै पटकमा नहोला । तीन/चार महिनामा नतिजा आउने गरी काम गर्ने छु ।” बिहीबार त्रिवि सभाको आयोजना गरिएको हुनाले अर्यालले बुधबार साँझ नै पदभार ग्रहण गर्नुभएको हो ।