alliance khabar

सोमबार, पुष ०८, २०८१

रामेछाप, पुस ८ गते : तामाकोशी नदी किनारमा बस्दै आएका रामेछापका माझी समुदायको पुर्ख्यौली पेसा पूर्ण रुपमा विस्थापित हुने अवस्था पुगेको छ । तामाकोशीमा माछा पाउन छाडेपछि माछा मारेरै आफ्नो जीविकोपार्जन गर्दै आएका युवाहरू वैदेशिक रोजगारीमा जाँदा र अन्य पेशा व्यवसायमा लाग्दा माझी समुदाय पुर्ख्यौली पेसा नै सङ्कटमा परेको हो ।

अर्काेतर्फ गैर कानुनी रूपमा करेन्ट लगाएर माछा मार्ने समूह सक्रिय हुँदा र ठाउँ ठाउँमा मोटररेवल पुलहरू बन्दा डुङ्गा तार्ने र माछा मारेर जीविकोपार्जन गर्ने माझी समुदायको पुर्ख्यौली पेसा सङ्कटमा परेको माझी समुदायको गुनासो छ ।

पछिल्लो समय माझी समुदायका युवाहरू आफ्नो पुर्ख्यौली पेसा छाडेर नेपाल प्रहरी, नेपाली सेनामा जागिरे हुने, वैदेशिक रोजगारीमा जाने र भैँसी तथा बाख्रा पालन तथा विभिन्न पेसा व्यवसायमा आबद्ध हुने क्रम पनि बढ्दो रहेको मन्थली नगरपालिका–८ चिसापानी गाइखुराका सुरेश माझीले बताउनुभयो । वडा सदस्य समेत रहनुभएका माझीका अनुसार विभिन्न कारणले तामाकोशी नदीमा माछा पाइन छोडेपछि कोशी किनारमा बसोबास गर्ने माझी समुदायका युवाहरू वैदेशिक रोजगारी, अन्य पेसा व्यवसाय र महिलाहरू किनारा पसल लगायतका पेसामा लागेका छन् ।

गैर कानुनी रूपमा करेन्ट लगाएर माछा मार्ने क्रम बढेका कारण माझी समुदायको पुर्ख्यौली पेसा पूर्णरुपमा विस्थापित हुने अवस्थामा पुगेको मन्थली नगरपालिका–८ चिसापानीका वडा अध्यक्ष गोपाल श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो “अहिले पहिले जस्तो माझी समुदायको पुर्ख्यौली पेसामा छैनन् । कहीँ कतै जाल हानेको देखिन्छ । गैर कानुनी रूपमा करेन्ट लगाएर माछा मार्ने समूह सक्रिय भएका छन् । यसको नियन्त्रणका लागि वडा कार्यालयले सम्बन्धित ठाउँमा जानकारी गराएको छ ।” गैर कानुनी रूपमा करेन्ट लगाएर माछा मार्ने समूहलाई कानुनी कठघरामा ल्याउनका लागि वडाले निगरानी बढाएको उहाँले बताउनुभयो ।

तामाकोशी नदी किनारमा बस्ने माझी समुदायका मानिसहरू पुर्ख्यौली पेसा छोडेर कतिपय वैदेशिक रोजगारीमा गएका छन् भने केही इँटाभट्टा लगायत अन्य पेसा व्यवसायमा लागेका छन् । नेपालको सीमान्तकृत जातिमा पर्ने माझी समुदायको आफ्नो भाषा, संस्कार संस्कृति लोप हुँदै गइरहेको अवस्थामा केही वर्ष अगाडिसम्म रामेछापका माझी समुदायले आफ्ना भाषा, संस्कार, संस्कृति र रीतिरिवाजको संरक्षण गर्दै आएका थिए ।

तर आफ्नो पुर्ख्यौली पेसाबाटै विस्थापित हुन थालेपछि यो समुदायको आफ्नो भाषा, संस्कार संस्कृति जोगाउने सक्रियता पनि घट्दै गएको छ । स्थानीय सरकारले पनि माझी समुदायका पुर्ख्यौली पेसा जोगाउँदै उनीहरूको भाषा, संस्कारको संरक्षणका गर्ने खालका कार्यक्रमहरू बनाउन सकेको छैन ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल