बागलुङ, भदौ २८ गते ।
नेपालको एकमात्र शिकार आरक्ष ढोरपाटनमा परम्परागत रुपमा ढुंगामाटोले बनेका घरलाई काठका फलेकले छाउने चलन छ । खोलाखोल्सीमा पनि काठका स–साना पुलपुलेसा राखिन्छ । पशुचरन गर्ने पाटनमा घाँस नकाट्ने अझै चलन छ ।
रासायनिन मल भित्रिन नदिन रैथाने अन्नबालीमा कम्पोष्ट मल मात्रै प्रयोग गरिन्छ । ३ हजार मीटर उचाइमा बसोबास गर्ने ढोरपाटनबासीले अहिले पनि आँटो–ढिडो खान्छन् । लेकाली भेडा र गाई पाल्ने स्थानीयले प्याकेटका सामान खासै रुचाउँदैनन् ।
केही वर्ष अघिसम्म गुमनाम जस्तै लाग्ने ढोरपाटनमा पछिल्लो समय भने पर्यटकको लर्काे नै लाग्न थालेको छ । पर्यटकको आगमन बाक्लिदै जाँदा त्यहाँ आर्थिक गतिविधि बढेका छन् । होटल तथा घरबास थपिने क्रम बढ्दै जाँदा स्थानीय रोजगारीमा जोडिएका छन् ।
हिजो सडक नपुग्दा ढोरपाटनबासीलाई खाद्यान्न ढुवानी गर्ने घोडा–खच्चरका बथान अहिले पर्यटकलाई बुकीपाटन घुमाउने साधन बनेका छन् । भेडा गोठालाहरुले आश्रय लिने गोठहरु पर्यटकलाई मिठोमसिनो खाना पस्कने र थकाई बिसाउने ‘गोठ–स्टे’मा परिणत भएका छन् ।
स्थानीय कला संस्कृति र परम्परागत जीवनशैलीले धनी ढोरपाटनको मौलिकता जोगाउने भने चुनौती थपिएको छ । ढुंगा–माटो र काठका फलेकले घर छाउने परम्परालाई विस्तारै कंक्रिटका पक्कि घरले विस्थापित गर्दै जान थालेको छ । ‘‘धमाधम कंक्रिडका घर बन्न थालेपछि ढोरपाटनको मौलिकता हराउने चिन्ता छ’’ स्थानीय भूमीराज विकले भन्नुभयो ।
ढोरपाटनमा व्यक्तिका घर, निर्माणाधिन नगर अस्पताल, तिब्बती शरणार्थी क्याम्पमा पनि कंक्रीडका बनिरहेका हुन् । उपत्यकामा अहिले ४० बढी होटल बनेर संचालनमा आएका छन् भने केही होमस्टे पनि छन् । केही होमस्टे त ढलान गरेर बनाइएको छ । आधाजसो घर सिमेन्ट प्रयोग गरेर बनेका बनिसकेको होटल व्यवसायी शिव कँडेलले बताउनुभयो ।
ढोरपाटनले स्थानीय भवन निर्माण मापदण्ड नबनाउँदा धमाधम पक्की संरचना बनिरहेका छन् । ‘‘अहिलेसम्म नगरपालिकाको स्थानीय भवन निर्माण मापदण्ड बनेको छैन’’ इन्जिनियर बुद्धि राना मगरले भन्नुभयो, ‘‘मापदण्ड बनेपछि मात्र कडाइ गर्न सकिन्छ ।’’ अहिले संघीय मापदण्डमात्रै लागू हुँदा त्यसैको आधारमा पक्की घर बनिरहेको उहाँको भनाई छ ।
आरक्षले भने प्लाष्टिकजन्य पदार्थ फाल्न रोक लगाउने, पदमार्गमा सिमेन्टका संरचना बनाउन रोक लगाएपनि व्यक्तिगत घर कंक्रिडका निर्माण भइरहेका छन् । ढोरपाटनको मौलिकपन बिग्रन नदिन ढलान गरेका घर नबनाउन सुझाए पनि कार्यान्वयन हुन नसकेको शिकार आरक्षका रेन्जर सागर सुवेदी बताउनुभयो ।
ढोरपाटन प्रकृतिको बरदान भएकोले यहाँ कंक्रिटका संरचना बनाउन नहुने पर्यटनकर्मीको तर्क छ । जलवायु परिवर्तनले पर्यावरणमा असर परिरहेको बेला आरक्षभित्र कंक्रीटका संरचना बनाउने काम रोकेर मौलिक घर बनाउन नगरपालिका र आरक्षले अनुमति दिनुपर्ने दिगो पर्यटन कार्यक्रमकी सामाजिक परिचालक रमिता पुनले बताउनुभयो ।
पर्यटकले सुविधाको लागि स्थानीय काठ र ढुंगामाटो बनेका घरमा मौलिकता दिन सकिने पुनको भनाई छ । आरक्षको अनुमति लिएर गतवर्ष मात्रै ३७ हजार ५ सय २० जना पर्यटक ढोरपाटनको भ्रमण गरेका छन् । मौलिकता र आतिथ्यता दिनसके ढोरपाटनमा वर्षमा एक लाखसम्म पर्यटक भित्राउन सकिने पुन सम्भावना रहेको जानकारी दिनु भएको छ ।
ढोरपाटन नगरपालिकाका कावा प्रमुख धनबहादुर कायतले ढोरपाटनको मौलिकता जोगाएर एकीकृत बस्ती विकास गर्ने, विकासका योजनाहरु ढोरपाटनमा केन्द्रीत गर्ने र ढोरपाटनलाई मौलीक शैलीको पर्यटकीय हव बनाउन पहल भइरहेको बताउनुभयो ।