alliance khabar

बुधबार, भाद्र ०५, २०८१

काठमाडौँ, भदौ ५ गते।

उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले धितोपत्र बोर्डको अध्यक्ष चाँडै नियुक्ति हुने बताउनुभएको छ।

बुधबार स्वतन्त्र ऊर्जा उत्पादकको संस्था (इप्पान) ले आयोजना गरेको कार्यक्रममा बोल्दै अर्थमन्त्री पौडेलले धितोपत्र बोर्ड अब लामो समय नेतृत्व विहीनको अवस्थामा नरहने बताउनुभएको हो।

उहाँले बोर्डमा लामो समयदेखि अध्यक्ष नहुँदा धेरै काम रोकिएको भन्दै सरकारले बोर्डको नेतृत्व चाँडै ल्याउने उल्लेख गर्नुभयो। उहाँले धितोपत्र बोर्ड लामो समय नेतृत्वविहीन हुँदा अनेक प्रकारका समस्या थपिने र फाइलहरू रोकिएको धारणा राख्नुभयो। उहाँले बोर्डमा उत्पन्न भएका समस्याको समाधान विधिसंवत शीघ्र समाधान गर्ने पक्षमा सरकार रहेको जानकारी दिनुभयो।

अर्थमन्त्री पौडेलले जलविद्युतमा विदेशी लगानीमा समय–समयमा सिर्जना हुने समस्यालाई सरकारले सम्बोधन गर्ने बताउनुभयो। उहाँले ऊर्जा क्षेत्रमा विदेशी लगानीका लागि अकुल परिस्थिति निर्माण गर्ने प्रतिबद्धता जनाउनुभयो। अर्थमन्त्री पौडेलले सरकारी र विद्युत प्राधिकरणले निर्माण गर्ने आयोजनामा विदेशी लगानी उल्लेखनीय मात्रामा हुने गरेको बताउनुभयो।

उहाँले सरकारले निर्माण गरेको मात्रै नभई अब निजी क्षेत्रका आयोजनामा पनि विदेशी लगानीका लागि अकुल परिस्थिति निर्माण गर्ने आवश्यक रहेको भन्दै सरकारले वातावरण बनाउन सहजीकरण गर्ने उल्लेख गर्नुभयो। उहाँले अहिले जलविद्युत लगानीको महत्त्वपूर्ण क्षेत्र भएकाले सरकार नियन्त्रण गर्ने पक्षमा नभएको बताउनुभयो।

उहाँले विद्युत विधेयकलाई सरकारले व्यवसायीमैत्री र त्रुटिरहित बनाउने पक्षमा रहेको बताउनुभयो। उहाँले ऊर्जा व्यवसायीलाई जलविद्युत क्षेत्रमा समस्या छन् भनेर नथाक्न पनि आग्रह गर्नुभयो।

अर्थमन्त्री पौडेलले जलविद्युतका समस्या समाधानको लागि सरकार र निजी क्षेत्र एउटै टेबलमा बसेर छलफलमा जानुपर्ने बताउनुभयो। उहाँले मुलुकमा ऊर्जाको आन्तरिक खपत बढाएर जान सके मात्रै जीवनस्तर माथि उठाउन सकिने उल्लेख गर्नुभयो।

आर्थिक समृद्धि हासिल गर्न आन्तरिक खपत बढाउनुपर्छ

अर्थमन्त्री पौडेलले सरकारले जलविद्युत् क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको र यस क्षेत्रको विकासका लागि विदेशी लगानी ल्याउन सरकारले वातावरण बनाउने प्रतिबद्धता जनाउनुभयो ।

“नेपालको ऊर्जा क्षेत्रमा विदेशी लगानी ल्याउनका लागि सरकारले वातावरण निर्माण गर्नेछ । नेपालको समृद्धिका लागि जलस्रोतको उच्चतम उपयोग गर्न ऊर्जा उत्पादन र आन्तरिक खपतमा जोड दिनुपर्छ”, मन्त्री पौडलले भन्नुभयो, “नेपालको अधिकतम उत्पादन नेपालमै खपत हुनेगरी ठूलाठूला बहुर्राष्ट्रिय कम्पनीलाई नेपाल लगानीका लागि प्रोत्साहन गर्ने नीति सरकारले लिनेछ ।”

ऊर्जा उत्पादनमा आफ्नो सम्पूर्ण समय र लगानी लगाएका ऊर्जा उद्यमीले समस्या छन् भनेर थाक्न नपाइने भन्नुहुँदै उहाँले हाल देखिएका समस्या बृहत छलफलमार्फत समाधान गर्न सकिने धारणा राख्नुभयो । नेपालको ऊर्जा क्षेत्रमा थप प्रगति हासिल गर्न र हिउँदमा पनि अन्यत्रबाट विद्युत् आयात गर्न नपर्ने ठाउँमा नेपाललाई पु¥याउन सबैले मिलेर काम पर्नेमा उहाँको जोड थियो ।

इप्पानका अध्यक्ष गणेश कार्कीले नेपाली बैंकले विदेशी लगानीका ठूला विद्युत् आयोजनामा ऋण लगानी गरेका कारण स्वदेशी आयोजनाले लगानी नपाएको धारणा राख्नुभयो । “बैंकसँग जलविद्युत्मा गर्ने लगानीको सानो सीमा छ । विदेशी लगानीका आयोजनामा गरिएको ऋण लगानी देखाउँदै स्वदेशी जलविद्युत् आयोजनामा लगानी गर्न सीमा सकियो भन्छन् । यसले हामी स्वदेशी लगानीकर्ता मारमा परेका छौँ”, उहाँले भन्नुभयो,“त्यसविदेशी लगानीका आयोजनामा गरिएको लगानीलाई सीमाभन्दा बाहिर राख्ने वा विदेशी लगानीका आयोजनामा नेपाली बैंकले लगानी गर्न नपाउने व्यवस्था गर्न आवश्यक भइसकेको छ ।”

विद्युत् विधेयकले नेपाली निजी क्षेत्रलाई निस्तेज गर्न खोजेको, निर्माणाधीन ३० भन्दाबढी जलविद्युत् आयोजनाले आइपिओ निष्काशनका लागि धितोपत्र बोर्डमा निवेदन दिएकामा लामो समयदेखि अनुमति नदिएकोे, स्थानीय तहबाट दोहोरो कर माग गरिएको, एक प्रतिशतमा हुने काममा २८ प्रतिशत भन्सार पु¥याइएको र सरकारले दिन्छु भनेको प्रतिमेगावाट रु ५० लाख भ्याट छुट अहिलेसम्म पनि नपाएको भन्नुहुँदै अध्यक्ष कार्कीले अर्थमन्त्री पौडेलको ध्यानाकर्षण गराउनुभएको थियो ।

कार्यक्रममा अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी) का नेपाल निर्देशक बाबाकर फायले आइएफसीले नेपालको निजी क्षेत्रलाई प्रोत्साहन गर्ने नीति लिएको बताउनुभयो । उहाँले ऊर्जा परियोजनामा लगानी गर्दै आएको र भोलिका दिनमा पनि नेपालको ऊर्जा क्षेत्रमा लगानी बढाउन तयार रहेको बताउनुभयो ।

कार्यक्रममा डोल्मा इम्प्याक्ट फण्डका कार्यकारी निर्देशक विद्यावारिधि सिग्देलले नेपाली बैंकले बर्सेनि रु ४०-५० अर्ब मात्रै ऊर्जामा लगानी गर्नसक्ने भएकाले स्वदेशी लगानीबाटै १० हजार मेगावाट उत्पादन गर्न ४० वर्षभन्दा बढी समय लाग्ने बताउनुभयो । उहाँले विदेशी लगानीमा ऊर्जाको दिगो विकास गर्न सकिने र त्यसका लागि नेपाली जलविद्युत् उद्यमीले वातावरण, समाज र सुशासनमा जोड दिनुपर्ने बताउनुभयोे ।

उपायका कार्यकारी निर्देशक सुमन रायमाझीले आफ्नो संस्थाले विदेशी लगानी नल्याएको भए आज यो उचाइ लिन नसकिने भन्दै ऊर्जा आयोजनाले पनि विदेशी लगानी ल्याउन आवश्यक रहेको बताउनुभयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल