alliance khabar

मंगलबार, आषाढ १८, २०८१

सेयर बजारमा अहिले खासै रौनक छैन । सेयर खरिदबिक्री सामान्य हुने र कारोबार पनि पाँच अर्बमुनिकै अवस्थामा रुमलिएको छ । साताको पहिलो दिन आइतबार नेप्सेमा १४.८३ अङ्कको गिरावटसहित बजार २०३७.८३ को बिन्दुमा रहेको छ । त्यसैगरी साताको दोस्रो दिन सोमबार नेप्से १६.२९ अङ्कको बढोत्तरीसहित नेप्से २०५३.३८ को बिन्दुमा उक्लेको छ । बजारको प्रकृति हेर्दा कहिले सामान्य बढोत्तरी छ भने कहिले सामान्य गिरावट छ । समग्रमा हेर्दा वर्तमान सेयर बजारमा ठुलो उतारचढाव छैन । सुस्त गतिमा बजार रहेको छ । आर्थिक वर्ष २०८१/८२ को बजेटमा सेयर बजारका लागि आवश्यक सुधारका कार्यक्रम खासै उल्लेख नगरिनु र केही दिनयता सेयरमा तिर्नुपर्ने कर बढ्ने जस्ता अनावश्यक हल्लाले बजारलाई माथि लान सकेको छैन । बैङ्किङ क्षेत्रमा मनग्गे तरलता हुनु, कतिपय बैङ्क तथा वित्तीय संस्थाले मुद्दती निक्षेपमा रकम जम्मा गर्ने कार्यलाई नै रोक लगाएको अवस्था छ । कर्जाको विस्तार पनि न्यून छ । कर्जाको विस्तारका लागि आर्थिक क्रियाकलाप चलायमान हुने अवस्था देखिएको छैन । कर्जाको ब्याजदर अझै उच्च अवस्थामा देखिन्छ । धेरै बैङ्क तथा वित्तीय संस्थाले कर्जाको ब्याजदर एकल अङ्कमा झारेका छन् । यसले आर्थिक क्रियाकलापमा केही सुधार हुने आशा गर्न सकिन्छ ।

समग्र कर्जाको ब्याजदरमा कमी आउने क्रम भने जारी छ । सेयर कर्जा पनि सुलभ र सस्तो पाइने अवस्था सिर्जना भएको छ । यसले बजारमा सुधार देख्न सकिने आशा भए पनि अझै सेयर कर्जा एकल अङ्कमा आइसकेको छैन । बजारमा खासै ठुलो मात्रामा खरिदारी हुन सकेको छैन । लगानीकर्ताको मनोबल उच्च हुन सकेको छैन । अब लगानीकर्ता आगामी मौद्रिक नीतिमा सेयर बजारमैत्री नीति आउँछ कि बजारलाई नकारात्मक असर पार्ने खालको नीति आउँछ भनेर पर्ख र हेरको अवस्थामा छन् । त्यसैले बजारमा खासै रौनक छैन ।

बजेटमा सेयर बजारका लागि खासै सकारात्मक कुरा नआए पनि नकारात्मक विषयले पनि प्रवेश पाएको छैन । सेयर बजारको नाफामा लिइँदै आएको करको दरका बारेमा उल्लेख नभएपछि पहिलैकै व्यवस्था कायम रहेको बुझ्नु पर्छ । अनि हाल करको बारेमा सुझाव दिन गठित उच्चस्तरीय समितिको प्रतिवेदनमा पनि खासै त्यस्तो बजारलाई नकारात्मक पार्ने खालको विषय नभएको र त्यो लागु भएको अवस्था पनि नभएको र मात्र सुझाव भएकाले आत्तिनुपर्ने अवस्था देखिँदैन । समितिको प्रतिवेदनमा बजेटको आकारमा चालु खर्चको मात्रा ६० प्रतिशत, पुँजीगत खर्चको अनुपात २५ प्रतिशत र वित्तीय व्यवस्थापनको पक्ष १५ प्रतिशतको हाराहारीलाई कडाइका साथ पालना गर्दै बजेट बनाइनुपर्ने सुझाव उल्लेख छ ।

अबको दिनमा नेपाल राष्ट्र बैङ्कले ल्याउने मौद्रिक नीति कस्तो आउने हो, अनिश्चित नै छ । अनि वर्तमान गभर्नरले ल्याउने आफ्नो अन्तिम मौद्रिक नीति भएकाले बजारमैत्री आउने अपेक्षा धेरै लगानीकर्ताको भए पनि नआएसम्म यसै भन्न सकिन्न । वर्तमान अर्थमन्त्रीले विभिन्न मञ्चमा दिएको अभिव्यक्तिलाई नै नियाल्ने हो भने पनि आगामी मौद्रिक नीति सेयर बजारमैत्री आउने विश्वास गर्न सकिन्छ तर कस्तो नीति आउने हो भन्ने विषय चाहिँ अनिश्चित नै छ । सेयर बजारको उतारचढावका लागि नेपाल सरकारले ल्याउने बजेटभन्दा पनि नेपाल राष्ट्र बैङ्कले ल्याउने मौद्रिक नीतिको भूमिका महत्वपूर्ण रहँदै आएको छ । विगतमा राष्ट्र बैङ्कले ल्याएको कसिलो मौद्रिक नीतिका कारण झर्न थालेको बजार अझै समालिन सकेको छैन ।

सेयर बजारमा अस्वाभाविक गतिविधि पनि देखिन थालेको छ । सामान्य परिस्थितिमा नाफा कमाएको र राम्रो प्रगति गरेको कम्पनीको बजार भाउ माथि जाने हो तर हालैका दिनमा बजारमा सूचीकृत कतिपय संस्थाको नाफा कम भएको र कुनै प्रतिफल दिन नसक्ने समाचार आएकै दिन त्यस्ता कम्पनीको बजार भाउ भने बढेको पाइनुले बजारमा आमलगानीकर्ताका लागि लगानी जोखिमपूर्ण हुँदै गएको छ । बजार सुस्ताएको बेलामा पनि बजारमा सूचीकृत भएका विविध समूहमध्ये नाफा कमाउन नसकेको र कम पुँजी भएको कम्पनीको सेयर मूल्य एकाएक उकालो लाग्ने अवस्थाले भने धेरै अनुभवी लगानीकर्तालाई आश्चर्यमा पारेको छ । कतिपय कम्पनीको प्राविधिक विश्लेषणको आधारमै सेयर भाउ बढ्छ भनेर भाउ उचालेको जस्तो पनि देखिन्छ ।

बजार घट्दो अवस्थामा रहँदा पनि नेप्सेमा सूचीकृत सेयरको ठुलो चुक्ता पुँजी भएको हाइड्रोपावर, बैङ्किङ क्षेत्र र लाइफ इन्स्योरेन्सबाहेक फाइनान्स, हाइड्रोपावर र माइक्रोफाइनान्स समूहका सीमित कम्पनीको सेयर मूल्य एकाएक उकालो लागेको छ । त्यसमा प्रश्न उठाउने ठाउँ चाहिँ के हो भने बजार मूल्य बढेका त्यस्ता कम्पनीमा लगानी गर्दाको अवस्थामा ती कम्पनीले गरेको आर्थिक प्रगति र आम्दानीले सेयर लगानीकर्तालाई उचित प्रतिफल दिन सक्छ भन्ने नै हो । फान्डामेन्टली हेर्ने हो भने नाफा कमाउन नसकेको र कम चुक्ता पुँजी भएका कम्पनीले लगानीकर्तालाई उचित प्रतिफल दिन सक्ने अवस्था नै देखिँदैन ।

बजारमा भाउ बढेको यस्ता समूहको कतिपय कम चुक्ता पुँजी भएका कम्पनीको प्रतिसेयर आम्दानी चालु आवको तेस्रो त्रैमाससम्म ऋणात्मक देखिन्छ । बजार सुस्ताएका बेला र सस्तोमा सेयर पाइने वर्तमान अवस्थामा आगामी दिनमा राम्रो प्रतिफल खाऊँला भनेर लगानी गरिएको सेयरले भावी दिनमा बजार बढ्दाको अवस्थामा पनि उचित प्रतिफल दिन नसक्ने निश्चित छ । वर्तमानमा ट्रेडिङका लागि निकै राम्रो देखिएको यस्ता कम्पनीमा लगानी गर्दा बढेको बेला बेचेर निस्कनेले नाफा कमाउन सफल हुने अनि समयमै निस्कन नसक्ने लामो समयसम्म फस्ने मात्र होइन, लगानी नै डुब्ने अवस्थामा पनि पुग्ने अवस्था उत्पन्न हुन सक्छ ।

फाइनान्स, हाइड्रोपावर र माइक्रोफाइनान्स समूहका कतिपय कम्पनी आधारभूत रूपमा जुन बलिया छन्, तिनको मूल्य बजारमा उकालो लाग्न सकेको देखिँदैन । यसले पनि बजार सस्तिएका बेला सेयर खरिद गर्दा निकै चनाखो हुनुपर्ने देखिएको छ ।

सेयर बजार घटेका बेला लगानी गर्ने सही समय हो तर लगानी गर्दा कम्पनीको प्रतिसेयर आम्दानी, मूल्य आम्दानी अनुपात, बैङ्क तथा वित्तीय संस्था हो भने खराब कर्जाको अवस्था, वितरणयोग्य नाफाको अनुपात जस्ता विषय हेर्नु अनिवार्य सर्त नै हो । जलविद्युत् कम्पनीका हकमा विद्युत् बिक्रीबाट भएको आम्दानीबाट लामो समयका लागि लिएको कर्जा भुक्तानी कस्तो अनुपातमा गरेको छ । जलविद्युत्को बिमा, ह्रास कट्टी, बाँध सफाइ, कर्मचारी खर्च, हाइड्रो मेकानिकलमा गरेको खर्च र बनेको रकम कुन कुन क्षेत्रमा लगानी गरेको छ भन्ने कुराको राम्रो अध्ययनपछि मात्र लगानी गर्नुपर्ने देखिन्छ । समग्रमा वर्तमान सेयर बजारमा प्राविधिक विश्लेषणका आधारमा मात्र सेयर खरिद गर्नुभन्दा पनि आधारभूत विश्लेषणलाई समेत अध्ययन गर्दै सेयर बजारमा लगानी गर्दा बेस हुने देखिन्छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल