काठमाडौं । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आदिवासी जनजातिहरूलाई मिलेर जान आग्रह गरेका छन् ।
मंगलबार काठमाडौंमा नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघको प्रथम राष्ट्रिय महाधिवेशनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले कुनै विवाद छभने पनि आपसी सहमति र सहकार्य गरेर जान सुझाव दिएका हुन् ।
उनले भने, ‘साथसाथै कांग्रेस पार्टीलाई पनि मजबुद पार्दै जानुस् । यो राष्ट्रलाई पनि बलियो पार्दै जानुस् । त्यो भएको खण्डमा हाम्रो राष्ट्र पनि बलियो हुन्छ ।’
‘हाम्रो पार्टी पनि मजबुद हुन्छ । तपाई आदिवासी जनजाति दाजुभाइ दिदीबहिनीको अधिकारको संरक्षण हुन्छ’, सभापति देउवाले भने ।
उनले भने, ‘पार्टीले म आफैले पनि अवश्य पनि तपाईहरूका मागलाई पूरा गर्दै लैजानेछु ।’
‘यसमा मिलेर जाने हो । आफू आफू झगडा गर्ने होइन । आफू आफू मिलेर जाने हो । म पनि तपाईहरूको माग पूरा गर्न लाग्नेछु’, सभापति देउवाले भने ।
‘धेरै साथीहरू हुनुहुन्छ । केही विवाद पनि होलान् । विवादहरूलाई पनि आपसी रुपमा छलफल गरेर सल्ट्याउनु आवश्यक हुन्छ । त्यो मलाई विश्वास छ’, देउवाले भने, ‘तपाईहरू मिलेर आपसमा यो विवादहरू सल्ट्याएर अगाडि बढ्नु होला ।’
उनले भने, ‘नेपाल आदिवासी जनजातिको समाज छ । तपाईहरू हुनुहुन्छ । महत्वपूर्ण योगदान दिन सक्दछ ।’
‘तपाईहरू एक भएर यो राष्ट्रको लागि ठूलो योगदान दिन सक्नु हुन्छ । भोलिका दिनमा आफ्नो हकअधिकारको लागि पनि लड्दै जानुस्’, सभापति देउवाले भने ।