Alliancekhabar

बुधबार, जेठ १६, २०८१

काठमाडौँ, जेठ १६ गते:   सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट मंगलबार सङ्घीय संसदमा प्रस्तुत गरेको छ। अर्थमन्त्री वर्षमान पुनले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा १८ खर्ब ६० अर्ब ३० करोड बराबरको बजेट प्रस्तुत गर्नुभएको हो। गत वर्ष जस्तै बजेटले राष्ट्रसेवक कर्मचारीको विषय र सामाजिक सुरक्षा भत्ताको विषयलाई छुन सकेन।

प्रस्तुत बजेटमा राष्ट्रसेवक कर्मचारीको बारेमा सरुवा बढुवा अनुमानको आधारमा गरिने बाहेक कुनै कुरा नसमेटिएको भन्दै निजामती कर्मचारी सङ्गठनका अगुवाले विरोध जनाएका छन्। नेपाल निजामती कर्मचारी सङ्गठनका अध्यक्ष लेखनाथ कोइराला सरकारले प्रस्तुत गरेको बजेटले कर्मचारीको मनोबल कमजोर बनाएको बताउनुभयो।

उहाँले भन्नुभयो, “यस पटकको बजेटले राष्ट्रसेवक कर्मचारीको मनोबल कमजोर बनाएको छ, गतवर्ष पनि सेवा सुविधा केही वृद्धि भएन, यसपालि हुनुपर्ने हो, भएन।’’ सरकारले आर्थिक वर्ष २०७९/८० मा राष्ट्रसेवक कर्मचारीको तलब १५ प्रतिशतले वृद्धि गरेको थियो।

आगामी आर्थिक वर्षले कर्मचारीलाई निरुत्साहन गरेकाले यसको प्रतिकारमा उत्रने उहाँको भनाइ छ। बजेट निर्माणको क्रममा अर्थमन्त्रीलाई नै भेटेर विभिन्न प्रस्ताव गरेको भए पनि बजेट भाषणमा त्यो कुनै कार्यान्वयन नहुनु दुखद भएको उहाँको दाबी छ।

उहाँले भन्नुभयो, “बजेट निर्माणको क्रममा अर्थमन्त्रीलाई नै भेटेर कर्मचारीको मनोबल बढाउने गरी बजेट ल्याउन सुझाव दिएका थियौँ, उहाँले हुन्छ, म गर्छु भनेर आश्वासन पनि दिनुभएको थियो। तर बजेट भाषणमा कुनै छेउ पनि छुनु भएन, यो साह्रै दुःखद कुरा हो।”

करारमा कार्यरत कर्मचारीलाई सामाजिक सुरक्षा कार्यक्रममा लैजाने व्यवस्था गर्नका लागि गरेको प्रस्ताव पनि अस्वीकृत हुनुले सरकार कामदारको पक्षमा नरहेको उहाँको आरोप छ।

सरकारी सेवामा रहेका एक लाख २५ हजार कर्मचारीलाई प्रदान गरिँदै आएको विभिन्न भत्तामध्ये पाँच हजार रुग्ण उद्योगमा सेयर वापत लगानी गर्ने प्रस्तावमाथि कर्मचारीले आक्रोश व्यक्त गरेका छन्। निजामती कर्मचारी युनियनका अध्यक्ष गोपाल पोखरेल यो बजेटप्रति सन्तुष्ट नरहेको बताउनुभयो। यो बजेट कर्मचारीको भावना विपरीत भएकाले कर्मचारी युनियनको विरोध रहेको उहाँले बताउनुभयो।

उहाँले भन्नुभयो, “बजेट निर्माणको क्रममा अर्थमन्त्रीलाई नै भेटेर बजेटमा कर्मचारीको तलब वृद्धि गर्न सकिँदैन भने, सबै सेवामा एउटै ग्रेड वृद्धि कायम गरौँ, सुरक्षाकर्मी र अन्य कर्मचारीको तलबमा समान मात्र बनाउनुपर्छ भन्ने सुझाव दिएका थियौँ, कुनै कार्यान्वयन भएन। हामी आन्दोलनमा जान्छौँ।”

प्रत्येक वर्ष पाउने महँगी भत्तालाई तलबमै समावेश गर्न सुझाव दिए पनि त्यो कार्यान्वयन नहुनु कर्मचारीको लागि दुःखद भएको उहाँको भनाइ छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल