बाजुरा, भदौ २४ गते ।
बाजुराका महिलालाई धान काट्ने चटारो परेको छ। यहाँ वर्षमा दुई पटक धान खेती गरिन्छ। पहिलोपटक चैत–वैशाखमा र दोस्रोपटक असारमा धान रोप्ने गरिन्छ।
यतिबेला चैत–वैशाखमा पाखो जमिनमा लगाइएको धान पाकेर पहेँलिएको छ। तर, दिनानुदिन पानी परिरहेकाले पाकेको धान कसरी घरमा भित्र्याउने भन्ने चिन्ता किसानलाई परेको छ। धानसँगै परालसमेत सुरक्षित राख्नुपर्ने भएकाले उनीहरू थप चिन्तित छन्।
भदौको दोस्रो सातादेखि पाक्न थालेको धानबाली कसरी घरमा भित्र्याउने भन्ने चिन्ताका कारण यहाँका महिलालाई धान काट्ने चटारो परेको हो। चैत–वैशाखमा पाखो जमिनमा लगाएको धान पाकेर झर्न थालेपछि उनीहरू बिहानदेखि दिउँसोसम्म धान काट्न व्यस्त हुने गरेका छन्।
चैत–वैशाखको टन्टलापुर गर्मीमा लगाइएको धान यतिबेला पाकेर झुरीमरी भएको छ। उक्त धान कसरी घरमा भित्र्याउने भन्ने हतार भइरहेको बुढीगङ्गा नगरपालिका–१० की स्थानीय दुर्गा नेपालीले बताउनुभयो।
उहाँले भन्नुभयो, “भदौमा प्रायः घरमा खाद्यान्नको पनि निकै अभाव हुने गर्छ। त्यो अभाव टार्न प्रायः चैत–वैशाखमा यहाँ पाखो जमिनमा धान खेती लगाउने गर्छन्।” त्यही धान अहिले पाकेको छ। धान पाक्ने बेलामै पानी पर्ने भएकाले त्यसलाई घरमा भित्र्याउन निकै समस्या हुने गरेको नेपालीले बताउनुभयो।
यतिबेला हिमाली, स्वामिकार्तिक खापर, जगन्नाथ, गौमुल, बडीमालिका, बुढीगङ्गा, त्रिवेणी र खप्तड छेडेदहलगायतका पालिकामा पाखो जमिनमा लगाइएको धानबाली पाकेको छ। उक्त धान घरमा भित्र्याउन यहाँका किसानलाई निकै सकस भएको छ।
अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण पनि किसानलाई धान भित्र्याउन समस्या भएको छ। घरदेखि माथि र निकै टाढा पाखो जमिनमा धान खेती लगाइएको हुन्छ। किसानले धान काटेर चुटेपछि घरमा ल्याउने गर्छन्। अहिले बाढीपहिरोका कारण बाटो बिग्रिएकाले बारीको धान घरमा भित्र्याउन निकै सकस हुने गरेको हो।
बाजुरामा कुल दुई लाख ३० हजार ३७ हेक्टर जमिनमध्ये २२ हजार हेक्टर मात्र खेतीयोग्य रहेको छ। यहाँ ६ हजार ९१५ हेक्टर जमिनमा धान खेती गरिन्छ। कृषि ज्ञान केन्द्र बाजुराका सूचना अधिकारी प्रेमराज न्यौपानेका अनुसार यहाँ धानको उत्पादकत्व १.९ मेट्रिक टन प्रतिहेक्टर रहेको छ।